सलह किरालाई प्रतिकिलो सयले किन्ने कृषि विज्ञ राईको घोषणा

खोटाङ, १४ असार । कृषि विज्ञ मदन राईले सलह किरा खरिद गर्ने घोषणा गरेका छन्। कृषि विज्ञ राईले प्रतिकिलो सय रुपैयाँका दरले सलह खरिद गर्ने बताएका हुन् ।

सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय गरेकैबेला राईले भने प्रतिकिलो सय रुपैयाँका दरले सलह खरिद गर्ने बताएका छन् ।

मदन राईले सामाजिक सञ्जालमा लेखेका छन् -‘कसैले समाएर ल्याइदिए किलोको सय रुपैयाँले, हजार किलोसम्म ल्याए एक लाख भुक्तानी गरिने छ,’ उनले भनेका छन् – ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई बिभिन्न परिकार बनाएर खुवाउनेछौँ। केही पशुपंछीको दाना बनाउँछौँ। सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ।

कृषिविज्ञ राईले सलह किरा नियन्त्रणको नाममा विष किनेर घुस खाने माध्यम नवनाउन र वातावरण बिषालु नवनाउन आग्रहसमेत गरेका छन्। खोटाङको सोल्मामा शुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका राईले विभिन्न राजनीतिक लगायतका विषयमा पनि चर्चामा रहने गर्छन् ।

खोटाङमा पनि देखियो सलह किरा
भारतबाट तराई हुँदै नेपाल प्रवेश गरेको सलह किरा खोटाङमा पनि देखिएको छ । ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो।

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ। हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईका अनुसार वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खुमा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

‘बालीनालीमा देखिएको छैन, घरको भित्तामा आएर बसेको अवस्थामा २०–२५ वटा सलह फेला परेको छ,’ मेयर राईका अनुसार ठूलो समुहमा नदेखिएको र उक्त किराहरु पानीले रोकेर घरमा ओत लागेको हुनसक्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति