28 June, 2020 12:01 pm


भारतीय फिल्म नगरी बलिउडको कालो पाटो !

काठमाडौं, १४ असार । भारतीय फिल्म नगरी बलिउड बाहिरबाट हेर्दा जति चमकधमक देखिन्छ । तर, त्यहाँभित्रको कथा–व्यथा भने बेग्लै छ । संसारकै दोस्रो ठूलो फिल्म नगरी भनिएको बलिउड फिल्म नगरीमा केहि त्यस्ता ठूला घरानाहरुको मुठ्ठीमा बलिउड रहेको पछिल्लो समय छर्लङ्ग भएको छ ।

हालको घट्ना हो बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण । जुन घट्नाले अहिले बलिउडमा भईरहेको विकृतिको उदाँगो त बनाईदियो नै । यसभित्र हुने गरेको विभिन्न खालका माफिया, अनेक विकृतिलाई पनि देखाईदिरहेको छ ।

अहिले धेरै पत्याउन छाडे कि सुशान्तले आत्महत्या डिप्रेसनका कारण गरेको हो भन्ने कुरालाई । दुई साता अगाडि आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले अहिले यो घट्नाको अनुसन्धान गरिरहेको बताइएको छ । यस प्रकरणमा भारतीय मुलधारका मिडियाले डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको भनेर घटनालाई सरलिकरण गरेका छन् । तर, साना मिडियाले चाहिँ घटनालाई शंकाष्पद मानेका छन् ।

सुशान्तको आत्महत्याका सन्दर्भमा सामाजिक सञ्जालमा भारतीयहरुले उठाइरहेका प्रश्नलाई महत्व दिएका छैनन् । बरु कतिपय विषयवस्तुलाई दवाउन खोजेका छन् । महेश भट्ट र रिया चक्रवर्तिको अफेयरलाई यी मिडियाले अहिलेसम्म कार्पेटमुनि लुकाइरहेका छन् । बलिउडका हस्तिहरुले पनि उनको आत्महत्याबारे प्रभावकारी अनुसन्धान हुनुपर्ने कुरामा जोड दिएका छैनन् । बरु सुशान्तलाई मानसिक रोगीको रुपमा चर्चा गर्न उद्यत देखिएका छन् ।

सात वर्षअघि जिया खानले आत्महत्या गर्दा घटनालाई जसरी दबाइयो, अहिले पनि सम्भवतः त्यसैगरी दबाइने छ । त्यसैले भोलि अरु कलाकारहरुले पनि सुशान्तको बाटो नसमात्लान् भन्न सकिन्न ।

बलिउडमा ठूला घरानाहरुको मुठ्ठीमा रहेको छर्लङ्गै छ । यी घरानाबाहेकका संघर्षशील कलाकारलाई दोस्रो दर्जाको व्यवहार हुन्छ । उनीहरुले अनेक व्यवधान खेप्नुपर्छ । बलिउडलाई परिवारवादले गाँजेको विषयमा पहिल्यैदेखि धेरै बहसहरु हुँदै आएका छन् । स्टार किड्स (चर्चित कलाकारहरुका सन्तान) ले त्यहाँ चलचित्रमा स्थापित हुन कुनै संघर्ष गर्नु पर्दैन । फिल्ममा डेब्यू गर्नु अगावै मिडियाहरुले उनीहरुलाई स्टार बनाइसकेका हुन्छन् । लगातार फिल्म फ्लप हुँदा पनि उनीहरुको चर्चा कम हुँदैन ।स्टार खानदानसँग असम्वन्धित साना सहरहरुबाट आएकाहरुले फिल्मका लागि सजिलै अडिसन दिन समेत पाउँदैनन् । फिल्म पाइहाले पनि उनीहरुलाई मिडियाले स्थान दिँदैनन् । उनीहरुले प्रत्येक फिल्ममा आफूलाई प्रमाणित गर्नुपर्छ । एउटा फिल्म फ्लप भयो भने करिअरमाथि प्रश्न उठ्न थाल्छ ।

बलिउडमा स्टार किड्स र अन्य कलाकारहरुलाई बेग्लाबेग्लै दर्जामा राखिन्छ । फिल्म पाउनेदेखि अवार्ड पाउने अवसरसम्ममा स्टार किड्सको अग्राधिकार जस्तै छ । उनीहरुले फ्लप फिल्मबाट पनि अवार्ड पाउँछन् । अरुले हिट फिल्मबाट पनि पाउँदैनन् । ७ वर्षसम्म बलिउडमा सक्रिय रहेका, थुप्रै हिट फिल्म दिएका सुशान्तले एउटै अवार्ड पाएनन् । भारतीय मिडियाले पनि उनलाई कहिल्यै स्टारको रुपमा हेरेनन् किनकी उनी कपुर, चोपडा, खान, बच्चन वा भट्ट परिवारका सदस्य थिएनन् ।

भारतीय मिडियाका लागि संघर्षशील कलाकारहरुको कुनै मूल्य हुँदैन । तर, स्टार किडहरु चाहिँ फिल्ममै नआइकन मिडियामा छाउँछन् । सैफ अली खानका छोराले कतिपटक आची गरे, साहरुखकी छोरीले कस्तो कलरको ब्याग बोकिन् रु ऐश्वर्या रायकी छोरी ब्रेकफास्टमा के खान्छिन् जस्ता विषयहरु भारतीय मिडियामा ठूला समाचार बन्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board