27 June, 2020 4:29 pm


तत्कालिन प्रधानमन्त्री एवं कांग्रेसका सभापति भट्टराईलाई हराउदै दुईवटा क्षेत्रमा एकसाथ विजयी भएका जननेता भण्डारीको राजनीतिक जीवन यस्तो थियो ( भिडियोसहित)

काठमाडौं, १३ असार । नेपाली कम्युनिष्ट आन्दोलनको एक शिर्षस्थ हस्ती मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाई दिएको छ । बि.सं. २००९ सालमा ताप्लेजुङमा जन्मिनुभएका भण्डारीको निधन २०५० साल जेठ ३ गते भयो । उहाँको रहस्यमय जीप दुर्घटना केवल दुर्घटना मात्रै नभई नियोजित हत्या हो भन्नेमा सबैको मत रहेपनि कसले हत्या गर्यो भन्नेमा छानविन समितीहरु बनेपनि एकिनका साथ हत्या प्रकरणको यथार्थ बाहिर आउन सकेको छैन ।

मदन हत्या प्रकरण इतिहासको गर्भमा रहस्यीमयी घटनाको रुपमा दर्ज भएको छ । यद्यपी उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप नै आज नेकपा बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा छ । सोभियत संघको बिघटन संगै विश्व कम्युनिष्ट आन्दोलन धरासयी हुन लागेको र बिश्व ब्यापी रुपमा प्रजातान्त्रीक लहर चलेको सन १९९० को दशकमा नेपालको कम्यस्निष्ट आन्दोलन जोगाउने एयटै मात्र रक्षा कवच जनताको बहुदलीय जनवाद रहेकोमा दुुई मत हुन सक्दैन । जनताको बहुदलीय जनवादकै बलमा नेपालमा कम्युनिष्ट आन्दोलनले उचाईलिएको घटनालाई बिश्वले नियालेको थियो । त्यसैले पुजिवादी शासन ब्यवस्थाको बकालतलाइृ जोड दिने बिश्व बिख्यात पत्रिका न्यूज विकले मदन भण्डारीका बारेमा लेख्न बाध्य भयो नेपालमा कालमाक्र्स जिवितै छन् भनेर ।
यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ

वि.सं.२०५० साल जेठ ३ गते जब युगपुरुष जननेता मदनकुमार भण्डारीको रहस्यमय मृत्यु भयो, त्यसबखत यी पंक्तिहरु भने निकै चर्चा बटुल्दै थिए । जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारी जीवनकालभर शासकहरुको आ“खाको तारो बनिरहनुभयो । जनतामाथि लादिएको सामन्ति शोषण र दमनपूर्ण विरासतको भारलाई एउटै काधले थाम्न खोज्ने मदनको अदम्य साहसलाई, कतिले आधीको संज्ञा पनि नदिएका होईनन् । वि.सं.२००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र आमा चन्द्र कुमारीको छोराको रुपमा मदनको जन्म भएको थियो । पा“च दाजुभाइ र पाँच दिदीबहिनीमध्ये उहाँ माहिला हुनुहुन्थ्यो । नेपालको पुर्वीभाग ताप्लेजुङ्ग जिल्लाको ढुङ्गे साघँुमा चन्द«कुमारी भण्डारी र देवीप्रसाद भण्डारीको माइला छोराको रुपमा २००९ साल असार १४ गते शुक्रवारको दिन उहाँको जन्म भयो । उहाँको न्वारानको नाम चाहिं मोतिप्रसाद भण्डारी थियो ।

वाल्यकालमा उहाँको शिक्षा घरमै चण्डीपाठबाट शुरु भयो । त्यसवेला उहाँको परिवारलाई जान्नेहरु बालक मदन चण्डी कण्ठाग्र गरेकाले जिल्लाभर नै चर्चित हुनुहुन्थ्यो । उहाँको वौद्धिकता र स्मरण शक्ति समयको अन्तराल सँगसँगै झनै तिखारिएर गयो । उहाँले २०२४ सालमा बाल सुवोधिनी संस्कृत प्रधान पाठशालाबाट प्रवेशिका उर्तिण गर्नुभयो र लगत्तै उच्च शिक्षा हासिल गर्नका लागि भारतको मथुरा जानुभयो । दुई वर्षपछि देहरादुन हुँदै उहाँ बनारस पुग्नुभयो । उहाँले बनारस विश्व विद्यालयवाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो । बनारस बस्दाकै समयमा वि.सं.२०२८ सालमा उहाँको भेट नेकपाका संस्थापक महासचिव पुष्पलालसँग भयो । यो भेट उहाँको राजनीतिक यात्रा तर्फको पहिलो पाइला थियो ।

त्यसलगत्तै २०२९ सालमा मदन पुष्पलालकै जनवादी सा“स्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुभएको थियो । जनवादी साँस्कृतिक मोर्चामा संगठित हुने उहाँको यात्राको पनि रोचक प्रसंग छ । उहाँमा त्यसबेला राजनीतिक भन्दा पनि साहित्यिक चेत बढी थियो । मदनका सहयोद्धा डा.मोदनाथ प्रश्रितका अनुसार कलेज पढ्ताका उहाँले एउटा काव्य लेख्नुभएको थियो । मानव महाकाव्य लेखेर मदन पुरस्कार पाइसक्नुभएका प्रश्रित त्यसबेलाका चर्चित लेखक त हुनुहुन्थ्यो नै, राजनीतिक रुपमा पुष्पलालसँग नजिक रही उहाँको सांस्कृतिक मोर्चासँग आवद्ध हुनुहुन्थ्यो । मदनको प्रतिभा देखेर नै प्रश्रितले उहाँलाई सांस्कृतिक मोर्चासँग आवद्ध हुन मनाउनुभयो ।

सांस्कृतिक मोर्चाको कार्य क्षेत्र नेपालका लुम्विनी अञ्चलका जिल्लाहरु थिए । त्यसैले मदन पनि नेपाल आएर सांस्कृतिक अभियानबाट कम्युनिष्ट विचारको प्रचारमै लाग्नुभयो । पछि २०३० देखि मदन पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिनुभयो । सक्रिय राजनीतिका लागि उहाँलाई केही पारिवारिक समस्या पनि थियो । तर प्रश्रित र जीवराज आश्रितले मदनको मोरङ इटहरास्थित घरमै गएर उहाँका माता पितासँग समेत आग्रह गरेर मदनलाई पूर्णकालिक राजनीतिमा ल्याउन सफल हुनुभयो ।

वि.सं.२०२३ सालमा भारतको बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभएका मदनले २ वटा विषयमा स्नातकोत्तर गर्नुभएको थियो । वि.सं.२०३३ सालमा पुष्पलालको पार्टीस“ग विद्रोह गरी निर्माण भएको मुक्तिमोर्चाका नेताहरु अखिल नेपाल क्रान्तिकारी कोअर्डीनेशन केन्द्रमा सम्मिलित भए । र, त्यसैवर्ष अर्थात् २०३५ साल पुस ११ गते माओ जयन्तिको दिन पारेर इटहरामै नेपाल कम्युनिष्ट पार्टी माले स्थापना भयो । पूर्णकालिक राजनीतिमा आइसक्नुभएका मदन त्यस पार्टीको संस्थापक केन्द्रीय सदस्य हुनुभयो । उहाँले २०४१ मा पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मा पाउनुभयो । पार्टी र पार्टी नेता सबै भूमिगत हुनुहुन्थ्यो । तर नेताका फाँटहरु फरकफरक थिए । मदन भण्डारी र जीवराज आश्रित पार्टीलाई राजनीतिक रुपमा स्थापित गराउने र संगठन बढाउन क्रियाशील हुनुहुन्थ्यो ।

सबै भन्छन्, हिजो आज यहा गाह्रो छ
ठूला–ठाला मजा गर्छन्, मसिना ज्यूनै गाह्रो छ
पिठो–आ“टो नपाएर मुटुमा वेदना बोकी
हिमाली सन्तती रुन्छन् सधैं खोजी ढिंडो रोटी

यो रचना अरु कोही नभएर जननेता मदन भण्डारीकै हो । कम्युनिष्ट नेताले भड्काउ गरेर, लावालस्कर लगाएर सवारी साधन चलाउन हदैन, यो कम्युनिष्ट आचरणमा सुहाउदैन, भन्ने मान्यता मदन भण्डारीको थियो । त्यसो त वि.सं.२०३९ साल साउन १४ गते पार्टीमै सक्रिय छँदा नै विद्यादेवी पाण्डेस“ग उनको जनवादी विवाह भएको थियो । वर्तमान देशका राष्ट्रपति विद्यादेवि भण्डारी र जननेता मदन भण्डारीले एकआपसमा रुमाल साटासाट गरेर भूमिगत जनवादी विवाह गर्नुभएको थियो । माधव कुमार नेपालको सभापतित्व रहेको उक्त विवाहमा अशोक राईले उद्घोषण गर्नुभयो । विद्याले मदनलाई माला लगाईदिनुभयो अनि मदनले विद्यालाई सिन्दुर ।

जम्मा १ सय ५० रुपैंयामा उहाँहरुको विवाह सम्पन्न भएको थियो । उहाँहरुका दुई छोरी छन् – उषाकिरण र निशाकुसुम । भूमिगत राजनीति र पञ्चायती शासनको चर्को दमनको बेला थियो त्यो । त्यसैले विवाहपछि पनि मदन र विद्या लामो समय सँगै बस्न पाउनुहुन्नथ्यो । यता पार्टीभित्र मदनको भूमिका झन् बढ्न थालेको थियो । पोलिटव्युरो सदस्य भए पनि मदनका विचारहरु तत्कालिन पार्टी महासचिव झलनाथ खनाल लगायतका शिर्षनेताले गम्भिरतापूर्वक लिंदै पार्टी निणर्यका रुपमा अगाडि बढाउन थालेका थिए । पंचायती निरंकुशता विरुद्ध लड्न र खुला प्रतिपस्र्धामक परिवेशको राजनीतिमा पाटीलाई अघि बढाउन पार्टी सहमत भयो । र, बहुदलीय जनवादको बाटोमा अघि बढ्नका लागि पार्टीभित्र सामूहिक वहस शुरु भयो । यसैक्रममा २०४५ सालमा सम्पन्न नेकपा मालेको चौथो महाअधिवेशनले मदनलाई पार्टी महासचिव चुन्यो । अघिल्लो कार्यकालदेखि गृहकार्य भएका कामहरुले वैधानिकता त पाए नै, जनताको बहुदलिय जनवादको सिद्धान्त प्रतिपादन गर्ने काम सुरु भयो ।
मदनले पंचायत विरुद्धको संघर्षलाई निष्कर्षमा पु¥याउन नेपाली काँग्रेससंग मिलेर आन्दोलनमा जाने निर्णयसहित बाम मोर्चा गठनको अभ्यास थाल्नुभयो । कांग्रेस र वाममोर्चाले २०४६ साल फागुन चैतमा गरेको संयुक्त जनआन्दोलनले पंचायत ढाल्यो । ३० वर्षिय निरंकुश शासन ढालेर स्थापना भएको प्रजातान्त्रीक परिवेशको खुशियाली मनाउन काठमाडौको खुला मंचमा हजारौको जनसागर जुटेको थियो । त्यहि सभामा सगर्व घोषणा गरियो– अब सम्बोधनका लागि आउँदै हुनुहुन्छ, नेकपा मालेका प्रवक्ता मदन भण्डारी । हजारौंको जनसागरले करतल ध्वनिसहित ताली बजाएर स्वागत ग¥यो । यहि विन्दुबाट सुरु भयो, मदनको खुल्ला राजनीति जीवन ।

खासगरी विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमै पनि सशस्त्र संघर्षबाट नेपाली क्रान्ति पुरा गर्न सकिन्छ कि शान्तिपूर्ण रुपमा नै क्रान्तिको कार्यभार पुरा गर्न सकिन्छ भन्ने विषयमा मतभेदहरु सिर्जना भइरहेको परिस्थितिमा, कम्युनिष्ट पार्टीहरु विभिन्न विचार समुहमा विभक्त भइरहेको बेलामा सम्पूर्ण कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न मदन भण्डारीले प्रयत्न गर्नुभएको थियो । विश्वभर कम्युनिष्ट पार्टीहरु विचार र सिद्धान्तबाट च्युत हुँदै, क्रान्तिमा असफल हुँदै गइरहेको परिस्थितिमा नेपाली माटो सुहाउँदो कार्यक्रम बनाउन मदन क्रियाशिल हुनुभयो ।

कुनैपनि प्रकारको सशस्त्र संघर्ष बिना नै परिवर्तन सम्भव छ, र बहुदलीय व्यवस्थालाई अंगिकार गर्दै जनवादी क्रान्ति पुरा गर्न सकिन्छ भन्ने ठानेर मदनले बहुदलीय प्रतिस्पर्धामा आधारित जनवादको विकास गर्नुभएको हो । यो नेपाली कम्युनिष्ट आन्दोलनको लागि दिशानिर्देश पनि थियो । आजको दिनमा मदनको तत्कालिन विचारले डोर्याएको बाटोमा नेकपा छ । आधारभुत रुपमा मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादकै विचारमा नेकपा रहेको छ । भावि प्रधानमन्त्रीको रुपमा हेरिएको एउटा राष्ट्रवादी नेतालाई अकालमा गुमाउनुपर्दा कम्युनिष्ट आन्दोलन नै टुहुरो जस्तो भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board