चीनसँग सीमा विवाद नरहेको नेपाल सरकारको स्पष्टीकरण

काठमाडौं, ११ असार । नेपाल सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीमा चीनसँगको सीमा विवाद नरहेको बताएको हो । विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ ।

कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्तिमार्फत बताएको छ । त्यस्तै हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रले जनाएको हो ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ । सीमा सम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति