‘नेपाल विशेष सेवा विधेयक, २०७६’ स्वीकृत

काठमाडौं, ९ असार । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यसअघि विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाम्फेले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षाका निम्ति विधेयकले विशेष व्यवस्था गरेको बताउनुभयो । उहाँले सरोकारवाला र विषय विज्ञसँग छलफल गरी विधेयक आएकाले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने बताउनुभयो ।

विधेयकको सैद्धान्तिक पक्षको छलफलमा सहभागी सांसदहरुले राज्यको भूमिकालाई प्रभावकारी बनाउन विधेयक उपयोगी हुने उल्लेख गर्नुभयो । सांसद खगराज अधिकारीले विगतमा राज्यको भूमिका प्रभावकारी बन्न नसक्दा लिपुलेक, कालापानी, सुस्तालगायत सीमा क्षेत्रको भूमि अतिक्रमित हुँदै आएको र यसले वैदेशिक हस्तक्षेप बढेको सन्र्दभमा नयाँ विधेयकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फे नेपाल विशेष विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै । तस्वीर — रोशन सापकोटा: रासस

सांसद नवराज सिलवालले राष्ट्रको सुरक्षा, राष्ट्रिय एकता र सार्वभौमिकताको विषयसँग जोडिएको विधेयक असाध्यै महत्वपूर्ण र समय सान्दर्भिक रहेको बताउनुभयो । अर्का सांसद गगनकुमार थापाले विधेयकमा रहेका प्रावधानले कतिपय अवस्थामा दुरुपयोग हुनसक्ने खतरा औँल्याउँनुभयो ।

यसैगरी सांसद पुष्पा भुसाल गौतमले विधेयकमा भएको कतिपय प्रावधानले संविधानले सुरक्षित गरेको जनताको मौलिक हक अधिकारको हनन् गर्ने भन्दै संशोधनको माग गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूूले नागरिकको वैयक्तिक स्वतन्त्रतामाथि आँच पु¥याउने र नागरिक अधिकार खोसिने प्रावधान रहेकाले विधेयकलाई सच्याउन माग गर्नुभयो ।

सांसद सञ्जय गौतमले विधेयक आवश्यकता भए पनि त्यसमा समेटिएका कतिपय विषय संविधानको मर्म र भावनाविपरीत भएकाले सच्याएर जानुपर्ने बताउनुभयो । अर्का सांसद प्रेम सुवालले नेपालको सार्वभौमिकतामाथि विदेशीको चलखेल बढिरहेको सन्दर्भमा विधेयकमा विगतका गल्ती नदोहोरिने प्रावधान समेट्न सुझाव दिनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति