18 June, 2020 8:27 am


कर्णालीमा १,१०० सङ्क्रमित

सुर्खेत, ४ असार / कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १०० नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार दुई सुर्खेत र दुई दैलेखमा गरी १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक हजार १०४ पुगेको उहाँले बताउनुभयो । महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । सङ्क्रमितमा पुरुष एक हजार २२ जना र महिला ८२ जना रहेका छन् । कर्णाली प्रदेशका कूल सङ्क्रमित व्यक्तिमा कोरोना सङ्क्रमण जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना सङ्क्रमित कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो ।

डोल्पा, दैलेख र सुर्खेतका एक/एक गरी तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ७९० नागरिक भारतबाट आइपुगेका छन् । यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board