जेष्ठ २७, २०७७ मंगलबार


सुगौली सन्धिपछिको पहिलो नक्साको तथ्य

काठमाडौं, जेठ २७ । नेपाल र भारतबीच सीमा समस्या समाधान गर्न पहल भइरहेको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको तथ्यसहितको अर्काे तथ्य फेला परेको छ । सुगौली सन्धिलगत्तै तत्कालीन इस्ट–इन्डिया कम्पनी कार्यालयले प्रकाशन गरेको पहिलो नक्सामा यस्तो तथ्य फेला परेको हो ।

सुगौली सन्धिपछि तत्कालीन इस्ट–इन्डिया कम्पनी कार्यालयले सन १८१९ मा प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई नै काली नदी लेखिएको छ। यो नै सुगौली सन्धिपछिको नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा हो। यस नक्सामा लिम्पियाधुराबाटै निस्केको काली नदी लेखिएको छ। साथै, यस नक्सामा लिपुलेकबाट निस्केको नदीलाई कुनै नाम दिइएको छैन। जसबाट लिपुलेकबाट निस्केको नदी कम महत्वको सानो सहायक नदी हो भन्ने स्पष्ट हुन्छ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ सुगौली सन्धिलगत्तै पहिलो नक्सा १८१९ मा जारी भएको पाइएको बताउनु हुन्छ । ‘म्याप अफ प्रोभिन्स अफ कुमाल’ लेखिएको नक्साको उत्तरमा चिनियाँ भूभाग तथा पूर्वमा निपाल (नेपाल) तथा डोटी उल्लेख छ। सीमाविद् श्रेष्ठका अनुसार यो नक्सा सर्भे अफ इन्डियाका क्याप्टेन एच.एस. वेभ सर्भेयरले तयार पार्नुभएको थियो । त्यो नक्सा १ इन्च बराबर १ माइल स्केलबाट तयार पारिएको छ। नक्सामा काली नदीको पूर्वमा कुटी, नाबी, गुन्जी, कुन्लस पर्वत परेको स्पष्ट देखिन्छ।

सीमाको बिषयमा निरन्तर खोजीमा लाग्नुभएका पत्रकार सुरेन्द्र काफ्लेका अनुसार त्रिभुवन विश्वविद्यालय भूभाग विभागका तत्कालीन प्रमुख डा. मंगलसिद्धि मानन्धर हालका विभागीय प्रमुख हृदयलाल कोइरालाले जर्नलमा सन् १८१९ पहिलो नक्साका रूपमा उल्लेख गरिएको छ। जर्नलमा ब्रिटिस भारत सरकारको सर्भे अफ इन्डियाबाटै प्रकाशित सुगौली सन्धि समयको तुरुन्तपछिको यो आधिकारिक नक्साले पनि वास्तविक काली नदी भनेर लिम्पियाधुराबाटै निस्किएको नदीलाई प्रमाणित गरेको उल्लेख गरिएको छ। १८१६ मार्च ४ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो।

सुगौली सन्धि र लगत्तैको नक्सा नै मूल प्रमाण मानिन्छ। यसकारण पनि यो पहिलो नक्सा सबैभन्दा महत्वपूर्ण हुने सीमासम्बन्धी जानकार बताउँछन्। सन् १८१६ को २ जनवरीमा तत्कालीन बेलायतका राजाको हाइड्रोग्राफर ए. एरोस्मिथले पछिल्लो सबैभन्दा आधिकारिक प्रमाणका आधारमा तयार पारिएको भन्ने शीर्षकमा प्रकाशित नक्सामा लिम्पियाधुराबाट निस्केको नदीलाई नै ‘काली नदी, गोग्रा वा सर्जू नदीको पश्चिमी शाखा’ मानेको छ। यो नक्सा पनि महत्वपूर्ण छ। सुगौली सन्धिदेखि सन् १८५६ सम्म प्रकाशित सबै नक्सामा लिम्पियाधुराबाट निस्केको नदी नै काली नदी भएको उल्लेख छ।

सीमाविद् श्रेष्ठमा अनुसार सन् १८२७ को पहिलो फेब्रुअरीमा इस्ट इन्डिया कम्पनी सरकारले ब्रिटिस संसद्ले पारित गरेको ऐनबमोजिम आफ्नै हाइड्रोग्राफरद्वारा तयार परेको ‘गढवाल कुमाउँ’ शीर्षकको तत्कालीन समयको सबैभन्दा ठूलो स्केलको र प्रमाणित नक्सा हो। यो नक्सामा पनि लिम्पियाधुराबाटै उद्गम ठूलो नदीलाई ‘काली नदी’ भनेर नक्सांकन गरिएको छ। यो नक्सा सो नदीलाई सुरु तथा मध्यभागमा काली नदी लेखिएको छ भने दक्षिण भागमा सर्जू, घाग्रा वा काली नदी नाम दिइएको छ। यो नक्साले सर्जू र घाग्रा भनेको काली नदीकै अन्य नाम हुन् भन्ने पुष्टि गरेको छ।

यो नक्सामा समेत लिपुलेकबाट निस्केको नदीलाई देखिए पनि अन्य नक्सांकनजस्तै कुनै महत्वको खोला ठानेर नाम भने लेखिएको छैन।

सन् १८३४, ३५, ३७, ४६, ५० र १८५६ मा प्रकाशित नक्साले पनि लिम्पियाधुरा आउने नदीलाई नै काली नदी लेखिएको छ। सन् १८५६ पछि भारतले नक्सामार्फत नेपाली भूमि अतिक्रमण थालेको हो । जुन अहिले पनि जारी राखेको छ । नेपालले अहिले सुगौली सन्धिपछिको पहिलो नक्सादेखि हालसम्मको सवै तथ्य र प्रमाणको आधारमा नयाँ नक्सा जारी गरेको हो । जुन नक्सामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूभाग समेटिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board