Nepal Page

२७ जेष्ठ २०७७, मंगलबार


करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरीविरुद्ध नै मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएको छ । पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अनुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले बताउनुभयो । “उजुरी आएलगत्तै पीडित महिलासँग सोधपुछ गरेर छानबिन शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “घटनाका विषयमा थप अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।” पीडक बाँस्तोलाले यही जेठ ३ गते राति आफ्नै घरमा आएर बलात्कार प्रयास गर्नुका साथै हातपातसमेत गरेकाले उनीविरुद्ध कारवाहीको माग गर्दै जाहेरी लिएर प्रहरीमा जाँदा पटकपटक फर्काइदिएपछि मानवअधिकार आयोगमा उजुरी दिइएको पीडित महिलाले बताउनुभयो । “म अन्यायमा परेकी छु”, उहाँले भन्नुभयो, “प्रहरीमा न्याय माग्न जाँदा उल्टै हप्काएर पठाएपछि मानवअधिकार आयोग गुहारेकी हुँ ।” मादक पदार्थ सेवन गरेर आएका पीडक बाँस्तोलाले गाउँका जोसुकैकी श्रीमती, छोरी र बुहारी पनि समाउन सक्छु भन्दै आफूलाई बलात्कार गर्न हातपात गरेको पीडित महिलाले बताउनुभएको छ । “बेलुकाको करिब ९ बजेको समयमा हाम्रो घर आएका बाँस्तोलाले मेरो श्रीमान्सँग विभिन्न बहानामा निहुँ खोजिरहेका थिए”, उहाँले भन्नुभयो, “खाना खाइसकेर श्रीमान् चर्पी गएको मौका छोपेर मलाई कम्मरमा समाएर लडाउनुका साथै मेरो संवेदनशीन अङ्गमा समेत पक्रेर बलात्कार प्रयास गरे ।” घटनास्थलमा पीडक भनिएका बाँस्तोला र महिलाबीच दोहोरो हात हालाहालसमेत भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनामा महिलाले बाँस्तोलालाई दाउरा प्रहार गर्दा बाँस्तोलाको टाउकोमा चोटसमेत लागेको छ । बलात्कारको प्रयास असफल भएपछि घटनास्थलबाट भागेका बाँस्तोलाले प्रहरी टोली ल्याएर आफूहरुलाई नै उल्टै पक्राउ गराएको पीडित पक्षको आरोप छ । घटनालगत्तै पक्राउ परेका पीडित भनिएकी महिला र उनका श्रीमान्विरुद्ध प्रहरीले अभद्र व्यवहार अभियोगको मुद्दा दर्ता गरेर कारवाही गरेको थियो । एघार दिन हिरासतमा बसेर तारिखमा छुटेका उनीहरुले जिल्ला प्रशासन कार्यालय खोटाङमा रु ४२ धरौटी बुझाएका छन् । धरौटीमा छुटेपछि पीडक बाँस्तोलाविरुद्ध मुद्दा दर्ता गर्न जाँदा प्रहरीले पटकपटक फर्काउने गरेको उनीहरुको आरोप छ । उता प्रनाउ चिमोरियाले भने महिलामाथि भएको घटना करणी उद्योग नभई यौन दुव्र्यवहार भएकाले उनले प्रहरीमा दिएको उजुरी फर्काइएको बताउनुभएको छ । “यौन दुव्र्यवहारसम्बन्धी मुद्दा अदालतले हेर्छ”, उहाँले भन्नुभयो, “पीडित भनिएकी महिलाले करणी उद्योगको मुद्दा ल्याएकाले प्रहरीकै परामर्शमा यौन दुव्र्यवहारअन्तर्गतको मुद्दा लिएर अदालत जान सुझाव दिइएको छ ।” पीडक भनिएका बाँस्तोलाले भने आफूमाथि योजनाबद्ध तरिकाले हातपात गर्नुका साथै चरित्रहत्या गर्न झुटो आरोप लगाएको बताएका छन् । यसअघि भएको घरायसी विवादमा उनीहरुले योजनाबद्ध तरिकाले कुटेर फालेको बाँस्तोलाको आरोप छ । पीडित भनिएकी महिलाबाट कुटाइ खाएका बाँस्तोलालाई एम्बुलेन्समार्फत काठमाडौँ लगेर उपचार गरिएको आफन्तले बताएका छन् । उनको टाउको, हात र आँखामा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । –––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति