Nepal Page

२७ जेष्ठ २०७७, मंगलबार


बेलायतबाट नेपाल फर्किन चाहने ३९१

बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १५४ जना रहेको छ । त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् । गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ । –––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति