9 June, 2020 12:19 pm


विकासनिर्माण योजनाको अनुगमन

चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरुको अनुगमन गरिएको छ । चालू आर्थिक वर्षमा सङ्घ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरुको जिल्ला समन्वय समिति र सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सङ्घ र प्रदेशबाट विनियोजन भएका योजनाको एक सातादेखि अनुगमन गरिएको जिल्ला समन्वय समिति चितवनका शाखा अधिकृत बद्रीनाथ सापकोटाले जानकारी दिनुभयो । “सबै स्थानीय तहमा अनुगमन गरेका छौँ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीको समयमा पनि धमाधम काम भइरहेको छ ।” उहाँले काम शुरु नभएका योजनाको काम शुरु गर्न र निर्माणमा भइरहेका योजनामा देखिएको बाधा व्यवधान हटाउन पहल गरिएको बताउनुभयो । उहाँले असारको पहिलो र तेस्रो हप्तामा पनि अनुगमन गरिने जानकारी दिनुभयो । अनुगमनमा प्रदेशसभा सदस्यको सहभागिता थियो । रु ५० लाखमाथिका योजना बोलपत्र र अन्य उपभोक्ता समितिमार्फत काम भइरहेको छ । “सबै योजनामा काम भइरहेका छन्, आम नागरिकले पनि निकै चासोका साथ योजनाको निगरानी गरिरहेका छन्”, प्रदेशसभा सदस्य विजय सुवेदीले भन्नुभयो । आफ्नो क्षेत्रका योजनाको निरन्तर अनुगमन गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिँदै आइरहेको उहाँले बताउनुभयो । बन्दाबन्दीले परिस्थिति प्रतिकूल भए पनि विकास निर्माण नरोक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । अनुगमन गरिएको योजनाको काम धमाधम भइरहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो । उहाँले बजेटको दुरुपयोग हुन नदिन चनाखो भएर काम गरिरहेको दाबी गर्नुभयो । खैरहनी, रत्ननगर, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा जिससका प्रमुख कृष्णकुमार डल्लाकोटी तथा भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा जिससका उपप्रमुख मुनाकुमारी श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board