8 June, 2020 9:20 am


निर्मम दमनविरुद्ध विद्रोह उठ्न एक झिल्को नै काफी हुन्छ

रोजर कोहेन

‘हाम्रो घाँटी दबाउने तिम्रा घुँडा हटाऊ’

[real3dflipbook id=’1′]

‘अमेरिकी संस्कृतिमा अश्वेतहरूसँग यस्तो व्यवहार गर्न छुट छ । त्यो पुलिसलाई जर्ज फ्लोयड मर्न सक्छ भन्ने थाहा थियो । तर पनि उसले फ्लोयडको घाँटीमा आफ्नो घुँडा राख्यो,’ मध्याह्नको समय ब्रोडवेमा भेटिएका मार्कस डेल्स्पिनेसले यसो भनिरहँदा उनको आँखामा एउटा उदासी थियो ।

डेरेक चोभिनले झन्डै नौ मिनेट फ्लोयडको घाँटी आफ्नो घुँडाले थिचे । यस घटनामा फ्लोयडको मृत्यु भएपछि चोभिनविरुद्ध हत्याको मुद्दा लागेको छ । एकजना श्वेत प्रहरी अधिकारीले निहत्था अश्वेतलाई घाँटी थिचेर मारे । अमेरिकी इतिहासको लामो हिस्सा ओगट्ने यस्तो दृश्य अमेरिकाको राष्ट्रिय पहिचानको एक हिस्सा पनि हो । 

फ्लोयडको अन्तिम समय कैद भएको भिडियो फुटेजमा देखिएका अन्य प्रहरी चोभिनसँग प्रशिक्षण लिइरहेका थिए । चोभिनको अनुहारमा देखिएको प्रसन्न मुद्राले यस्तो लाग्थ्यो, उनी आफ्ना शिष्यलाई भन्दै छन्, ‘यहाँ हेर, मैले मान्छे मारेको ।’ फ्लोयडको मृत्युपछि उभारमा उठेका नारामध्ये एक नारा क्रिस्चियन धर्मगुरु अल सार्पटनले दिएका छन्, जसमा भनिएको छ- ‘गेट योर नि अफ आवर नेक्स (हाम्रो घाँटीबाट तिम्रो घुँडा हटाऊ)’। ‘घुँडा’ केही समयदेखि त्यहाँ थियो ।

‘प्रहरीलाई जे गर्न पनि छुट छ । युवाहरू त्यसै आक्रोशित भएका होइनन् । त्यो प्रहरीको घुँडा जहाँ छ, त्यसले नै श्वेत निष्ठुरता कति क्रूर छ भन्ने बताउँछ ।’

यो अमेरिकाको संविधानको ३५औँ बुँदामा थियो, जसले एक दासको मत स्वतन्त्र मानिसको तुलनामा ६० प्रतिशत मात्र तय गरेको थियो । दासप्रथा र ‘जिम क्रो’ नामक विधेयक पनि त्यस्तै ‘घुँडा’ हुन् । त्यस्तैगरी पछि अश्वेतहरूले भोगेका लिन्चिङ, विद्यालय, यातायात तथा घरबार अलग्गै हुनुपर्ने रीतिजस्ता धेरै प्रणालीगत राज्य दमनको व्यवस्थाका कारण नै चोभिनमा श्वेत व्यक्तिले जे गर्दा पनि हुन्छ भन्ने विश्वास विकास गरायो । 

‘अमेरिकामा अश्वेत हुनुको अर्थ मृत्युदण्ड हुनु हुँदैन,’ फ्लोयडको हत्यापछि उनको सहर मिनियापलिसका मेयर ज्याकोब फ्रेले भने । अश्वेतको समान अधिकारका लागि भएको सिभिल राइट्स आन्दोलनको आधा शताब्दीपछि पनि यस्तो भन्नुपर्ने अवस्था छ । यो सोचनीय नारा हो, ‘हाम्रो घाँटी थिच्ने तिम्रा घुँडा हटाऊ ।’ ५२ वर्षका बेरोजगार डेलस्पिनास अश्वेत हुन् । यो वाक्य लेख्दा मलाई अप्रिय भावले छोपेको छ । फलानो गोरा हो, ढिस्कानो अश्वेत हो । यो असफलताको धुनले केलाई व्याख्या गर्छ ?

अमेरिकाको सामाजिक विखण्डन : अमेरिकाको महाभूल । अमेरिकाको मूल नारा जीवन, स्वतन्त्रता र खुसीको प्रत्याभूति सबै नागरिकले बराबर पाइरहेका छैनन् भन्ने विषय अमेरिकाका लागि लाजको विषय हो । मैले ५२ वर्षका बेरोजगार डेलेस्पिनासलाई मानव लेखेको हुन सक्छु । तर, चोभिनजस्ता मानिस अहिले पनि डेलेस्पिनासलाई त्यसरी हेर्दैनन् । ‘फ्लोयडको ठाउँमा म, मेरी भतिजा-भतिजी वा अंकल जो पनि हुन सक्थ्यौँ,’ डेलस्पिनासले भने, ‘प्रहरीलाई जे गर्न पनि छुट छ । युवाहरू त्यसै आक्रोशित भएका होइनन् । त्यो प्रहरीको घुँडा जहाँ छ, त्यसले नै श्वेत निष्ठुरता कति क्रूर छ भन्ने बताउँछ ।’

फ्लोयडको मृत्युपछि ठूलो संख्यामा मानिस सडकमा उत्रिए । विरोधका क्रममा प्रमुख सहरमा आगजनी तथा लुटपाटको घटना पनि भयो । हिंसा स्वीकार्य कुरा होइन । तर, गम्भीर खालको राज्यहिंसाविरुद्ध मानिसहरू प्रतिरोध गर्छन् नै । विद्रोहका लागि एउटा झिल्को नै काफी हुन्छ । कवि ल्याङ्सटन ह्युज ‘पूरा नगरिएका सपना के हुन्छ’ भन्ने कवितामा थप प्रश्न गर्छन्, ‘के यो विस्फोट हुन्छ ?’ कहिलेकाहीँ श्वेत समुदायको व्यवहार निष्ठुरताभन्दा पनि खराब देखिन्छ ।

यसको एउटा उदाहरण एमी कुपर प्रकरण हो । न्युयोर्क सहरको सेन्ट्रल पार्कमा उच्च शिक्षित एमीले देखाएको नश्लवादी व्यवहार भिडियोमा कैद भएकाले सबैको नजरमा आयो । भिडियोमा एमी प्रहरीलाई फोन गरेर ‘एक अफ्रिकी अमेरिकीले मेरो ज्यान जोखिममा पारिरहेको’ बताउने धम्की दिइरहेको सुनिन्छ । चरा संरक्षणमा चाख दिने अश्वेत पुरुष क्रिस्चियन कुपरले एमीलाई पार्कमा कुकुरलाई खुला नछाड्न बताउँदा एमीले उक्त धम्की दिएकी थिइन् । यस्ता नश्लवादी अहंकारलाई हामीले उजागर गर्नुपर्छ । 

राष्ट्रपति ट्रम्प आफैँ नश्लीय अहंकार बोकेर हिँड्छन् । उनले सन् २०१५ को चुनावी अभियान सुरु गर्दा अमेरिका प्रवेश गर्ने मेक्सिकनलाई ‘बलात्कारी’ भनेका थिए । उनको उक्त रणनीति सफल साबित भयो । ट्रम्प खुलेर हिंसा र विभाजनलाई प्रोत्साहन गर्छन् । त्यसैले त उनी वर्तमान आक्रोशलाई ‘घरेलु आतंक’को संज्ञा दिँदै यसलाई सेनाद्वारा कुल्चने धम्की दिइरहेका छन् ।

एक श्वेत प्रहरी अधिकारीबाट अश्वेत नागरिकको हत्या भएपछि उत्पन्न आक्रोशविरुद्ध शक्ति परिचालनको धम्कीले पनि अमेरिकाको दमनकारी प्रणाली तत्काल बदलिने छैन भन्ने संकेत गर्छ । ट्रम्पले यो हप्ता वासिंटनको सेन्ट एपिस्कोपल चर्च क्षेत्रका प्रदर्शनकारी हटाएर फोटो सेसन गरे । त्यसबाट आफूलाई बाइबल पक्षधर देखाउने र मतदातालाई प्रभाव पार्ने ट्रम्पको मनसाय देखिन्छ । यो अमेरिकी लोकतन्त्रकै भद्दा तस्बिर थियो । 

सन् २०१५मा धेरैले ट्रम्पको विरोध गरेका थिए । सन् २०१६ मा पनि उनको उस्तै आलोचना भएको थियो । तर पनि उनले राष्ट्रपतीय चुनाव जिते । यसबाट करोडौँ अमेरिकी ट्रम्पजस्तै सोच्छन् भन्ने देखियो । यसैको उदाहरण पछिल्लो समय सिनेटर टम कटनले ट्रम्पको विचारलाई समर्थन गर्दै ट्विट गरेको घटनामा पनि देखिन्छ । पछि कटनले न्युयोर्क टाइम्समा एक विवादित लेख पनि लेखे । लेखको विचार घृणित छ र गलत समयमा आएको छ । यसलाई बेवास्ता गर्नु खतरनाक हुन्छ । 

(रोजर कोहेन न्युयोर्क टाइम्सका स्तम्भकार हुन् ।) 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board