- क्यारल एन्डरसन –
सन् १९१९ मा जब सेना पहिलो विश्वयुद्धबाट फर्कियो, धेरै श्वेत–अमेरिकीले पहिलोपटक अफ्रिकन–अमेरिकीलाई सैनिक बर्दीमा देखे । यसले तिनको पुरातन राजनीतिक, सामाजिक र आर्थिक तहमा धक्का पुगेको महसुस गरियो । र, श्वेत–अमेरिकीको हतियारधारी समूहले अश्वेतलाई अमेरिकाभरि जहीँ–कहीँ मार्न थाल्यो । त्यस दंगालाई ‘रेड समर’को संज्ञा दिइन्छ ।
राज्यको संरक्षणविना नै अश्वेतले जेनतेन यसको प्रतिकार गरे, कतिपय घटनामा त प्रहरी खुद अश्वेतहरूको हत्यामा संलग्न थियो । न्यायिक जनरल मिचेल पाल्मरका अनुसार, ‘लेफ्ट विङ’ प्रगतिशील भर्खरै उदाउँदै थिए, त्यसैले पनि कतिपय अश्वेतलाई झुटा मुद्दा लगाउन सजिलो भयो । पाल्मरले राष्ट्रपति विड्रो विल्सनका लागि काम गरे । विल्सनले अफ्रिकन–अमेरिकीविरुद्ध जातीय हिंसामा उत्रने श्वेत नश्लवादी समूह ‘कु क्लुक्स क्लान’लाई समेत समर्थन गरेका थिए । सन् १९१७ मा पूर्वी सेन्ट लुइसमा श्वेतले अश्वेतको कत्लेआम गर्दा विल्सन चुपचाप थिए भने सन् १९१९मा योभन्दा बीभत्ससँग अफ्रिकन–अमेरिकीको नरसंहार हुँदा पनि उनी खासै कारबाही गर्ने मानसिकतामा थिएनन् ।
जब आफ्नो जीवनको रक्षार्थ अफ्रिकन–अमेरिकी विरोधमा उत्रिए, पाल्मरले संघीय सरकारको शक्ति लादेर अश्वेत प्रदर्शनकारीलाई कम्युनिस्ट अर्थात् राज्यद्रोही करार गर्ने काम गरे । यो विभेदपूर्ण ढंगले शान्ति स्थापना गर्ने उनको शैली थियो । राष्ट्रपतिको इसारामा अश्वेतमाथि श्वेत सर्वोच्चतावादीले गरिरहेको जघन्य अपराधको उनले बेवास्ता गरेका थिए । मारिइरहेका अश्वेतको उनलाई कुनै पर्वाह थिएन । मानौँ, अश्वेत हुनु नै पीडितको अपराध थियो ।
हिंसा र दयनीय स्थितिका कारण सास फेर्न सकस परिरहेको अफ्रिकन–अमेरिकीको अवस्थाको सम्बोधन गर्न राज्य तयार छैन, ट्रम्पकै अनुसरण गर्दै यसलाई ‘आन्तरिक आतंकवाद’को संज्ञा दिन खोजिँदै छ
एक सय वर्षपश्चात जर्ज फ्लोयड, अहमद आरबरी र ब्रेओना टेलर यस्तै निर्मम ढंगले मारिएका छन् । लाग्छ, अहिलेका न्यायिक जनरल बिल बार पनि त्यति वेलाका मिचेल पाल्मरजस्तै छन् । पाल्मरजस्तै बारले पनि भिजिलान्ते र राज्यका निकायले निरन्तर गरिरहेको अश्वेत हत्यालाई बेवास्ता गर्दै आएका छन् । उनले पनि अहिलेको घटनाको चुरो कारण बुझ्न आनाकानी गरिरहेका छन् । हिंसा र दयनीय स्थितिका कारण सास फेर्न सकस परिरहेको अफ्रिकन–अमेरिकीको अवस्थाको सम्बोधन गर्न राज्य संयन्त्र तयार छैन । डोनाल्ड ट्रम्पकै अनुसरण गर्दै उनी पनि अहिलेको भड्केको दंगालाई ‘आन्तरिक आतंकवाद’को संज्ञा दिन खोज्दै छन् । अहिलेको प्रदर्शनलाई उनले ‘हिंसालाई प्रश्रय दिने एन्टिफाजस्ता उग्रवादीको काम’ भनिसकेका छन् र मुद्दा चलाउने धम्की दिँदै छन् । ट्रम्पले आन्दोलनकारीलाई ‘लुटेरा’ भन्दै एन्टिफालाई आतंकवादीको सूचीमा राख्ने धम्की दिइसकेका छन् । बडो उदेकलाग्दो छ, केही दिनपहिले राज्यले गरेको लकडाउनविरुद्ध गैरकानुनी ढंगले बन्दुक बोकेर मिचिगनको सडकमा उर्लनेलाई ट्रम्पले ‘असल व्यक्ति’ भन्न भ्याएका थिए ।
जे भए पनि यस्तो परिस्थिति आउनुमा ट्रम्पको न्याय विभागको हात छ । यसले इतिहासदेखिकै प्रहरी विभागको अत्याचार र विभेदलाई बेवास्ता मात्र गरिरह्यो, खराब नीतिसम्बन्धी तथ्यांक जम्मा गर्न र अनुगमन गर्न अस्वीकार गरिरह्यो । समानता महत्वपूर्ण कुरा हो, तर यिनले अमेरिकी जनताको मतदान अधिकारको दयरा फराकिलो पार्ने नीति अघि सारेनन्, ताकि दीनहीनले आफ्नो जीवनको रक्षा गर्ने प्रतिनिधि चुन्न सकून् । बरु न्याय विभागले अलाबामामा जस्तो कन्जर्भेटिभलाई फाइदा पुग्ने गरी अफ्रिकन–अमेरिकीलाई मतपेटिकाको पहुँचभन्दा पर हुत्याउने वातावरण सिर्जिदियो । सन् १९१९ मा झैँ अहिले पनि अमेरिकामा गैरश्वेतहरू अधिकारका लागि सडकमा निस्किरहनुपरेको छ किनकि तिनको सुरक्षामा राज्य चुकेको छ । २०२० मा पनि हामीसँग त्यही राज्य छ, जहाँ संघीय र प्रान्तीय तहका न्यायालय, कार्यपालिका र व्यवस्थापिकालगायत सबै अंगले लाखौँलाख अमेरिकी नागरिकलाई परित्याग गरेको छ ।
भिडियो नै हुँदा पनि जर्जियाको जिल्ला इजलासले अहमुद बरबरीको हत्यामा केही गैरकानुनी नभएको बताइसकेको छ । १८ वटा अभियोग लागेको जर्ज फ्लोयडको हत्यारा कसरी प्रहरी सेवामा रहिरह्यो र आठ–आठ मिनेटसम्म फ्लोयडको घाँटी थिच्न भ्याइरह्यो ? यस्ता गहन प्रश्न ज्युँकात्युँ छन् । अमेरिकी समाज र अमेरिकी संस्थापनमा पक्कै धेरै कमजोरी छन्, नत्र न्यायका लागि आन्दोलित हुनुपर्ने थिएन । पाल्मर र विल्सनले जस्तै अहिले बार र ट्रम्पले एन्टिफा र अन्य प्रगतिशील उग्रवादी समूहविरुद्ध खनिएर अश्वेतले भोगिरहेको राज्य प्रायोजित हिंसाबाट हाम्रो ध्यान अन्यन्त्र मोड्दै छन् । अर्कोतिर, सन् १९१९ मा पनि राजनीतिक संयन्त्र अश्वेत अस्तित्वलाई संकटतिर धकेल्ने किसिमको थियो र आज पनि त्यस्तै छ । न्यायिक जनरल आमअमेरिकीको आधारभूत अधिकार रक्षार्थ नियुक्त हुनुपर्छ र यसका लागि सबै वर्ग, पद र क्षेत्रका व्यक्तिलाई ‘अश्वेतको जीवनको पनि अर्थ छ’ भनेर बुझाउनुपर्छ ।
(एन्डरसन इमोरी विश्वविद्यालयकी प्राध्यापक तथा ‘ह्वाइट रेग : द स्पोकन ट्रुथ अफ आवर र्यासियल डिभाइड’ पुस्तककी लेखक हुन् ।)
द गार्जियनबाट
२०७७ जेठ २६
COMMENTS