5 June, 2020 5:20 pm


बन्दाबन्दीमै पुष्पलाल लोकमार्गमा धमाधम कालोपत्र हुँदै

गलकोट, २३ जेठ – राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ जिल्लामा पर्ने निसीखोला खण्डमा बन्दाबन्दीकै अवस्थामा धमाधम कालोपत्र भइरहेको छ । जिल्लाको सुगम मानिने बागलुङ बजारदेखि घोडाबाँधे सडकखण्डको २५ किलोमिटर कालोपत्रमा ढिलाइ भइरहेको अवस्थामा जिल्लाको अत्यन्तै दुर्गम मानिने निसोखालामा लोकमार्गको काम सामाजिक दूरी कायम गरी धमाधम भइरहेको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । मध्यपहाडी लोकमार्गको निसीखोलामा पर्ने ४१ किलोमिटर सडकमध्ये गत वर्ष साढे १४ किलोमिटर सडक कालिका प्यासिफिक निर्माण सेवाले कालोपत्र सम्पन्न गरिसकेको छ । अहिले ढोरपाटन नगरपालिका–२ शेरा बजारदेखि निसीखोला–५ वडा वनखोलासम्मको १७ किलोमिटर सडकमा बन्दाबन्दीमै १० किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । थापाले केही दिनमै सात किलोमिटर कालोपत्रसमेत सम्पन्न हुने जानकारी दिनुभयो । सरकारले राष्ट्रिय गौरवको आयोजनालाई बन्दाबन्दीमै निरन्तरता दिने भनेपछि जिल्ला प्रशासन कार्यालय बागलुङको सहजीकरणमा न्यूनतम स्वास्थ्य सर्तकता अपनाएर कालोपत्रको काम भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ । मौजुदा मजदुरलाई परिचालन गरी १७ किलोमिटर सडकखण्ड स्वच्छन्द शङ्करमाली निर्माण कम्पनीले कालोपत्र गरिरहेको छ । बन्दाबन्दी हुनुपूर्व नै कालोपत्र गर्न शुरु गरे पनि कोरोना भाइरसका कारण दुई महिनापछि कालोपत्र भइरहेको छ । सरकारले हालै जारी गरेको बजेटमा समेत मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनालाई उच्च प्राथमिकतामा राखेर तीन वर्षभित्र सक्ने गरी बजेट विनियोजन भएको छ । “हामीले सकेसम्म असार मसान्तसम्म निसीखोला खण्डको सबै सडक कालोपत्र गर्ने गरी काम अगाडि बढाएका थियौँ”, थापाले भन्नुभयो, “निसीखोलाको उपल्लो खण्डमा काम प्रभावित भए पनि तल्लो खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको छ ।” बन्दाबन्दी खुलेमा असार मसान्तसम्म निसीखोला खण्डको ४१ किलोमिटर सडक कालोपत्र गर्ने गरी निर्माणकार्यलाई अगाडि बढाएको लोकमार्गका साइड इञ्जीनियर सरोज ढकालले बताउनुभयो । निसीखोलाको उपल्लोे खण्डमा समेत सामान्य ढङ्गले काम भइरहेको निसीखोलाको पातीहाल्नेबाट जाउले खण्डको साढे १० किलोमिटर सडक निर्माणको जिम्मा पाएको इसिआइ कन्काइ निर्माण सेवाले बताएको छ । मध्यपहाडी लोकमार्गको ४१ किलोटिर खण्डमा आयोजनाको मापडण्डअनुसार सडक चौडा पार्ने काम सकिएको छ । असार मसान्तसम्म निसीखोला खण्डमा कालोपत्रको काम सम्पन्न हुने देखिए पनि बन्दाबन्दीले असर पार्ने देखिएको छ । बागलुङ जिल्ला सदरमुकामबाट बिँहु–घोडाबाँधेसम्मको २५ किलोमिटर सडकमध्ये उपल्लो खण्डमा समेत कालोपत्रका लागि पूर्वाधार निर्माण भइरहेको छ भने तल्लो खण्डमा निर्माण कम्पनी सम्र्पकमा नरहेका कारण काम ठप्प रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने लामो समय भइसक्दा समेत ठेकेदार कम्पनीको लापरवाहीका कारण बागलुङ बजारबाट अछेते खण्डमा निर्माणले गति लिन सकेको छैन । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर सडकमध्ये ९० किलोमिटर सडक कालोपत्र भइसकेको छ भने ५२ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । जसअन्तर्गत निसीखोला खण्डको ४१ किमी सडक असार मसान्तसम्म कालोपत्र भएमा बागलुङ बजारबाट बिँहु–घोडाबाँधे सडकको २५ किलोमिटर सडक मात्र कालोपत्र गर्न बाँकी रहनेछ । मदन भण्डारी पदमार्ग निर्माण बन्दाबन्दीकै बीच बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा मदन भण्डारी पदमार्ग निर्माण गरिएको छ । तीन वर्षदेखि वडा कार्यालय नुन्थलादेखि कुलपाजा हुँदै पर्यटकीयस्थल गाजा दह जोड्ने मदन भण्डारी पदमार्गअन्तर्गत हालसम्म एक हजार ४०० मिटर निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो आर्थिक वर्षमा विनियोजन गरेको रु २५ लाख बजेटबाट ९०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार गत वर्ष रु ११ लाखको लागतमा ५०० मिटर पदमार्ग निर्माण भएको थियो । यो वर्षको बजेटले ९०० मिटर थप गरी हालसम्म जम्मा एक हजार ४०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको हो । “पर्यटन विकासका लागि मदन भण्डारी पदमार्ग निर्माण गरिएको छ”, लामिछानेले भन्नुभयो, “अहिले वडा कार्यालयबाट कुलपाजासम्म पुगेको पदमार्गलाई तीन वर्षभित्र गाजादह पु¥याउने लक्ष्य रहेको छ ।” गाजादह बागलुङको एक आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । रेशमा आएका पर्यटकलाई घरवासमा राखेर पदमार्ग हुँदै गाजादह पु¥याउनका लागि पदमार्गको निर्माण तीन वर्षअघि थालनी गरिएको थियो । रेशमा रहेका पर्यटकीयस्थललाई गाजादह जोड्नका लागि पदमार्गले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । जननेता स्व मदन भण्डारीको पहिचान कायम गर्न ढुङ्गा छापेर पदमार्ग बनाइएको हो । परम्परागत पदमार्ग पर्यटकले रुचाएको पाइएपछि ढलान नगरेको वडा कार्यालयले जनाएको छ । बागलुङमा सडक निर्माणका क्रममा पुराना गोरेटोबाटो मासिन थालेको भन्दै धमाधम पर्यटकीय पदमार्ग निर्माणले गति लिन थालेको धवलागिरि पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष खिमानन्द कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार रेशमा मात्र नभएर बिहुँ रिजालचोक हुँदै घुम्टे जाने पदमार्ग, गलकोटमल्मबाट घुम्टे पुग्ने र बागलुङ नगरपालिकाको पञ्चकोट हुँदै संसारकोट पुग्ने पदमार्ग निर्माण भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकले पदयात्रामार्फत पर्यटकीय गन्तव्य पुग्न थालेपछि बागलुङमा धमाधम पर्यटकीय पदमार्ग निर्माण थालिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board