जाजरकोट, २३ जेठ – शिवालय गाउँपालिका–९ खारामा पुल निर्माण गर्छौँ भन्दाभन्दै तुइनबाट अहिलेसम्म १८ जनाले ज्यान गु्माइसकेको भएपनि पुल बनाउने अत्तोपत्तो नहुँदा शिवालय गाउँपालिका–९ की ६१ वर्षीया भीमादेवी बुढालाई साह्रै चित्त दुखेको छ । उहाँका बाबा नेपालगञ्जबाट नुन लिएर जाँदै गर्दा विसं २०४५ मा छेडागाडमा रहेको वारपार गर्ने लाप्कोबाट खसेर पानीमा डुब्दा मृत्यु भएको घटना दिमागमा ताजै छ । “धेरै मानिस पुल बनाउँछौँ भन्दै आउँछन्, तर पुल बन्ने कहिल्यै होइन”, उहाँले भन्नुभयो, “मैले थाहा पाएसम्म १८ जनाको मृत्यु तुइनबाटै खसेर भइसकेको छ, अझै कति जनाको मृत्यु हुन्छ थाहा छैन ।” “तुइनभन्दा पहिले छेडाखोलामा काठबाट निर्माण गरिएको लाप्को (लामो काठ खोलामाथि राखिएको) थियो”, भीमादेवीले भन्नुभयो, “लाप्को हटाएर फलामको लहरो ल्याएर तुइन बनाइ खोला वारपार गर्न थालेको समेत २० वर्ष पूरा भइसकेको छ ।” यही बाटो महिनापिच्छे ठूला पदमा आसिन व्यक्तित्व आउने र जाने गर्दछन् तर तुइन हटाएर पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । पुल निर्माणका लागि अब आन्दोलन नै गर्नुपर्ने अवस्था आएको छेडागाड नगरपालिका–१२ का मनोहर रोकायको भनाइ छ । “सजिलो तरिकाले भन्ने हो भने कसैले नसुन्नेरहेन्छन्”, उहाँले भन्नुभयो, “सरकारले तुइन हटाउँछु भनेको समाचार सुन्दा हाम्रोमा पनि छिट्टै हट्छ कि भनेर आशा लागेको थियो, तर अहिलेसम्म तुइन नहट्दा गफ नै हुन् कि भन्ने लागेको छ ।” शिवालय गाउँपालिका–९ र छेडागाड नगरपालिका–१२ बीचमा रहेको छेडागाड नदीमा पुल बनाउन अब अनसन नै बस्नुपर्ने हो भन्दै अर्का स्थानीयवासी शान्त बुढाले आक्रोश पोख्नुभयो । प्रत्येक दिन शिवालय गाउँपालिका–९ खारास्थित नवप्रतिभा आधारभूत विद्यालयमा पढ्न आउने र घर फर्कने विद्यार्थीको मूलबाटो यही तुइन हो । छेडा नदीमा दैनिक फलामको लहरोमा चार वर्षका बालबालिकादेखि वृद्धसम्म यही लहरोको सहारामा वारपार गर्दा मरिन्छ कि बाँचिन्छ भन्दै नदीमाथि चिन्डोझै झुण्डिएर मुटु काप्दै वारपार गर्नुपर्ने पीडा रहेको अर्का स्थानीयवासी वीरबहादुर पुनले जानकारी दिनुभयो । खारास्थित गाउँमा बजार रहेको छ । दैनिक खाद्यान्न लिन आउनेदेखि यातायातका साधन भेट्टाउनसमेत यही तुइन तरेर आउनुपर्ने बाध्यता रहेको वीरबहादुर पुनको भनाइ छ । अब हामीलाई यो ठाउँमा पुल निर्माण नगर्ने नेतालाई भोट नै नदिने निर्णय मात्र गर्न बाँकी रहेको उहाँको भनाइ छ । “जनताको पीडामा रमाउने व्यक्ति कदापि हाम्रो जनप्रतिनिधि हुन सक्नुहुन्न”, यहाँका स्थानीयवासीको आक्रोश छ । अझै हामीले कति वर्षसम्म तुइनबाट मर्नुपर्ने हो ? भन्दै सर्वसाधारण आक्रोश पोख्ने गर्छन् । तुइन भएको ठाउँबाट झोलुङ्गे पुल भएको ठाउँमा पुग्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । हिउँदयाममा हिँडे पनि वर्षायाममा मोर्क खोलामा पानी बढेपछि मोर्कस्थित पुल तरेर गए पनि काम नहुने सर्वसाधारण बताउँछन् । मोर्कमा समेत नौ वर्षदेखि यातायातका साधन सञ्चालन गर्नका लागि पुल निर्माणको आधा काम भएर रोकिएको छ । यो ठाउँमा बसाइ भएदेखि अहिलेसम्म कति जनाले छेडाखोलामा अकालमै ज्यान गुमाउनुप¥यो भन्ने कुनै हिसाब नभएको स्थानीयवासी बताउँछन् । बाजेदेखि नाति पुस्तासम्मले पुलकै लागि लडाइँ गर्नुपर्ने बाध्यता कहिले अन्त्य होला स्थानीयवासी पूर्णसमिर महतराको गुनासो छ । उहाँलाई सङ्घसंस्थाबाट मानिस आएर एकपटक नाँपजाँच गरेर फर्केको समेत याद छ । छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बजेट अभावका कारण पुल निर्माण गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनाउने इच्छा भए पनि पैसा छैन, कसरी बनाऊ”, प्रदेश सरकारले यसतर्फ ध्यान दिएर पुल निर्माण गरिदिए हामी आभारी हुने थियौँ” उहाँले भन्नुभयो । जाजरकोटको सबैभन्दा बढी जनसङ्ख्या भएको नगरपालिका छेडागाड हो । त्यस्तै शिवालय गाउँपालिका–१ र छेडागाड नगरपालिका–१३ बीचमा समेत तुइनकै भरमा आवतजावत हुँदै आएको छ । चुनावी नाराभन्दा काम गरेर जनताको समस्यामा अग्रसर हुन राजनीतिक नेतृत्वलाई सर्वसाधारण नागरिकको आग्रह छ ।
COMMENTS