नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु

काठमाडौं, ३ जेठ ।   नेपालमा कोभिड–१९ को संक्रमणबाट पहिलो मुत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको कोरोना परीक्षण गर्दा आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो। उनको बिहीबार राति मृत्यु भएको हो।

स्रोतका अनुसार २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ ।

कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति