13 May, 2020 8:02 pm


नेपालमा कोरोना ३५ जना निको, समाज अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका परिवार र आफन्तको कोरोना परीक्षण हुने


काठमाडौं, ३१ बैशाख । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १९ रहेको छ । देशभरि दुई सय ४५ जना आइसोलेशनमा रहेका छन् भने तीन सय ५४ जना रेड जोनमा छन् । १४ हजार तीन सय १३ जना क्वरेण्टीनमा रहेका छन् । सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ ।

अहिलेसम्म २१ हजार तीन सय ४० जनामा पीसीआर विधिमार्फत परीक्षण गरिएको र ६० हजारभन्दा धेरैको आरडीटीमार्फत परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ५७ को पीसीआर र ६ सय ९२ जनाको आरडीटीमार्फत परीक्षण गरिएको हो । सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आफू सुरक्षित रहेमात्रै बिरामीलाई सेवा दिन सकिने भएकाले उच्च सुरक्षा उपनाउन आग्रह गर्नुभयो ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र कोरोना परीक्षणको किट सरकारसँग पर्याप्त रहेकाले यसको उपयोग गरेर सुरक्षित रहन उहाँले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

सरकारले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना जाँच गर्ने पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board