13 May, 2020 1:38 pm


अभ्यासमा ट्याकल गर्न प्रतिबन्ध

एजेन्सी । प्रिमियर लिगका क्लब सोमबारबाट अभ्यास थाल्दैछन् । लिग सुरु गर्नुअघि पहिलो चरणको अभ्यास सोमबारबाट सुरु गर्ने क्लबहरुको तयारी छ । कोरोनाका महामारीबीच सुरु हुन लागेको अभ्यास सत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाईने भएको छ ।

केही यस्ता नियम छन्, जसलाई खेलाडी तथा क्लबले कडाईका साथ पालना गर्नुपर्नेछ ।

मुख्य रुपमा अभ्यासका दौरान खेलाडीले ट्याकल गर्न पाउने छैनन्, खेल अघि मैदान पूर्ण रुपमा किटाणु रहित तरिकाले सफा गरिनेछ, समूहमा ५ भन्दा धेरै खेलाडी जम्मा हुन पाउने नियम बनाईएको छ ।

पहिलो चरणको अभ्यास सत्र अघि खेलाडी तथा क्लबले पालना गर्नुपर्ने नियम तय गरिएको हो ।

लिग अधिकारीले सम्पूर्ण नियम खेलाडी तथा प्रशिक्षकलाई दिएका छन् । र अभ्यासका दौरान नियमको कडाईका साथ अनुगमन गरिने बताईएको छ ।

सबै सत्र अघि र पछि कर्नरको झण्डा, बल, क्वाईन, गोल पोस्ट र खेलाडी पुग्ने क्षेत्रलाई किटाणु रहित तरिकाले सफा गरिनेछ ।

लिगका प्रशिक्षकहरुले सोमबारबाट अभ्यास सत्र सुरु हुने अपेक्षा गरेका छन् । अभ्यास सत्र मात्र ७५ मिनेटको रहनेछ ।

यस्तै, अभ्यास सत्रका लागि तयार गरिएको परिपत्रमा साप्ताहिक रुपमा दुई पटक स्वास्थ्य परिक्षण र दैनिक प्रशिक्षण अघि प्रश्नावली र खेलाडीको तापक्रमको जाँच गरिनेछ ।

नियमका अनुसार खेलाडीले प्रशिक्षणको दौरान आफ्ना गाडी सेयर गर्ने छैनन् । र गाडीलाई दैनिक रुपमा सफा गर्नुपर्नेछ । प्रशिक्षणको दौरान सार्वजनीक गाडी र टिम सहितको गाडी उपयोग गर्न रोक लगाईएको छ ।

बुधबार खेलाडी, प्रिमियर लिग, मेडिकल स्टाफ र खेलाडी संघका अधिकारीको संयुक्त बैठक बस्दैछ । बेलायत सरकार ईङ्लिस फुटबल सुरु गर्ने बिषयमा सकारात्मक देखिएको छ ।

प्रिमियर लिगले समेत घरेलु क्लब फुटबललाई अघि बढाउन आन्तरिक गृहकार्यलाई अन्तिम चरणमा पुर्याएको छ । सोही अनुसार क्लबहरुको पहिलो चरणको प्रशिक्षण सुरु हुन लागेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board