भारतले सडक खन्दै गरेको मलाई रिपोर्टिङ गरिएन : प्रधानमन्त्री

काठमाडौँ, ३० बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडक बनाएको विषयमा आफूलाई रिपोर्टिङ नगरिएको बताउनु भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले उद्घाटनपछि मात्रै सडक बनेको थाहा पाएको बताउनु भएको हो । एक मन्त्रीका अनुसार बैठकमा ओलीले भारतले बलमिच्याइ गरेको भन्दै यसलाई कुटनीतिक तवरले नै हल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

यसका विरुद्ध सडकमा कराउँदै, उफ्रँदै हिँडेर समाधान नहुने भन्दै उहाँले जथाभावी नबोल्न मन्त्रीहरुलाई सचेत समेत गराउनु भएको थियो ।
पछिल्लो समय भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।
‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दैछ भन्ने मलाई कुनै जानकारी थिएन । भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेका थिएनन्,’ ओलीको भनाइ थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आइतबार प्रतिनिधिसभा बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेका बारे सरकारलाई पहिल्यैदेखि जानकारी रहेको दाबी गर्नुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति