8 May, 2020 7:45 pm


संसदको छैठौँ तथा बजेट अधिवेशन शुरु : बजेट सम्बन्धी छलफल गम्भिरतापूर्वक अगाडी बढाएर निष्कर्षमा पुग्ने सांसदहरुको दावी


काठमाडौं, २४ बैशाख ।  संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट शुरु भएको छ ।  संविधानत्ः जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने भएकोले कोरोना संक्रमण र मुलुक लकडाउनको अवस्थामा रहेको अवस्थामै भएपनि संसदले अधिवेशन प्रारम्भ गरेको छ । आवश्यक स्वास्थ्य जाँच, स्वास्थ्य सचेतता अपनाउँदै भौतिक दुरी समेत कायम गरी संसद बैठक सञ्चालन गरिएको छ । संसदमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर लडिरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी र पत्रकारलाई संसदीय दलको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । कोरोनाले धेरै नकारात्मक असर पारेको भन्दै यस अधिवेशनले त्यो असर समाधानमा ध्यान पु¥याउनुपर्ने नेम्वाङले बताउनुभयो । प्रि–बजेट छलफल, नीति कार्यक्रमको सम्बन्धमा, बजेट सम्बन्धी छलफल गम्भिरतापूर्वक अगाडी बढाएर निष्कर्षमा पुग्ने उहाँको भनाई छ । प्राथमिकताको विषय यसपटक कोरोना नै भएपनि संसदमा विचाराधिन विधेयकहरु, अध्यादेशहरुलाई पनि टुंगोमा पु¥याउने उपनेता नेम्वाङले बताउनुभयो ।

नेम्वाङले सत्य निरुपण र बेपत्ता व्यक्तिहरुको छानविन आयोगको सम्बन्धमा कानुन निर्माणको सम्बन्धमा विधेयक सम्बन्धी आवश्यक कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यो अधिवेशनबाट बाँकी रहेका शान्ति प्रक्रियाका बाँकी काम सकिने विश्वास व्यक्त गर्नुभयो । सांसद अपहरण प्रकरणबारे बोल्दै उपनेता नेम्वाङले संसदमा यथार्थ कुरा आउनुपर्ने बताउनुभयो । नेकपा कुनै पनि प्रकारको अपराधको पक्षमा नरहेको उल्लेख गर्नुभयो । त्यसैगरी संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोभिड १९ विरुद्धको लडाइमा नियन्त्रण र निर्मुल गराउन सरकार असफल भएको जिकिर गर्नुभयो । राहत, क्वारेन्टाइन, अस्पतालमा सुरक्षा सामाग्री आपुर्ति हुन नसकेको उल्लेख गर्दै देउवाले न्युन रुपमा परिक्षण भइरहेको बताउनुभयो । सरकारले यस्तो अवस्थामा सरकारले शासन गर्ने नैतिक आधार गुमाएको आरोप लगाउनुभयो । कोरोना संक्रमणका त्रासका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न सरकारसँग माग गर्नुभयो । नेपाल भित्राएर आवश्यक क्वारेन्टाइनमा राख्न सरकारसँग आग्रह गर्नुभएको छ । भौतिक दुरी कायम राख्न उहाँले पार्टी पंक्ति र सबैलाई आग्रह गर्नुभएको छ ।

आगामी बजेट मुख्य रुपमा कोरोना केन्द्रीत हुनुपर्ने आफ्नो स्पष्ट माग रहेको देउवाले बताउनुभयो । बैठकमा सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेकपालका सांसद राजेन्द्र महतोले कोरोनाको परिक्षण कम भएको भन्दै परिक्षण बढाउनुपर्ने धारणा राख्नुभयो । सरकारको अहिले जनतालाई महामारीबाट बचाउनु र राहत दिनु नै मुख्य काम भएपनि सो काम भए नभएको सरकारबाट अनुगमन हुन नसकेको जिकिर गर्नुभयो ।

नेकपा मशालकी सांसद दुर्गा पौडेलले सरकारले भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने बताउनुभयो । विदेशबाट आउने युवाहरुलाई रोजगारी र कृषिमा केन्द्रीत गर्न सरकारसँग दिर्घकालिन योजना आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

नेमकिपाका सांसद प्रेम सुवालले राहत वितरणमा पक्षपात गरिएको, कुहिएको खाद्यान्न वितरण गरिएको र अस्पतालहरुमा स्वास्थ्य सामाग्रीको उपलब्धता नभएकोमा सरकारको ध्यानाकर्षण गराउनुभएयो ।  संसदको अर्को बैठक बैशाख २८ गते बस्नेछ भने प्रि–बजेट माथि छलफल हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board