3 May, 2020 2:48 pm


सभामुख सापकोटाद्वारा सञ्चारकर्मीप्रति उच्च सम्मान


काठमाडौं, २१ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले हाल नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न विषम परिस्थितिमा अहोरात्र खटेर सूचना प्रवाहमा निरन्तर खटिरहेका सञ्चारकर्मीप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विषम अवस्थामा पनि निरन्तर सूचना सङ्कलन गरी सचेतना जगाउने र राज्यका सबै अङ्गलाई झक्झकाइरहने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नुभएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन अर्पण गरेका सञ्चारकर्मीप्रति सभामुख सापकोटाले हार्दिक श्रद्धासुमन प्रकट गर्नुभएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

सभामुख सापकोटाले प्रेस स्वतन्त्रता समाज र लोकतान्त्रिक प्रणालीको दर्पण भएको उल्लेख गर्दै पत्रकारिता सचेत समाज निर्माणका लागि आवश्यक उच्चतम अभ्यास भएको बताउनुभएको छ । प्रेसकोे मूलकर्म आमजनतालाई सुसूचित गराउने, उत्प्रेरित गर्ने र जनमत सिर्जना गर्ने भएको तथ्य पेश गर्दै सभामुख सापकोटाले भन्नुभएको छ, “विषम र विशेष परिस्थितिमा प्रेसको महत्व झनै बढ्ने गर्छ ।

विश्वव्यापी महामारीको हालको अवस्थामा जीवनलाई जोखिममा राखेर आफ्नो कर्ममा लागिरहनुुहुने सञ्चारकर्मीमा यो दिवसले थप ऊर्जा र हौसला मिल्ने विश्वास लिएको छु ।” उहाँले समतामूलक समाज निर्माण, सम्मानपूर्ण जीवन यापन एवं मानव जीवनको समृद्धिको पक्षमा सञ्चार जगत् सदैव उभिइरहने उत्प्रेरणा मिल्ने कामनासमेत गर्नुभएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board