3 May, 2020 6:53 am


कोरोना भाइरसबाट भारतमा एकै दिन १०० जनाको मृत्यु, एसियाली मुलुकमा भारत चौथो नम्बरमा


काठमाडौं, २१ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यसैवीच भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६२ वर्षीय त्रिपाठीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनकी छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो, तर उपचारपछि उनीहरु निको भएका छन् ।उनी छत्तीसगढ उच्च अदालतको पूर्वमुख्य न्यायाधीशसमेत हुन् । सन् २०१९ को मार्च महिनामा उनलाई कानुन मन्त्रालयले २७ मार्चमा लोकपाल सदस्यमा नियुक्त गरेको थियो । त्यसपछि उनले छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board