23 April, 2020 9:42 am


लोकतान्त्रिक मुल्य मान्यता विपरित अध्यादेश ल्याइएकोले त्यसलाई फिर्ता गर्न माग (भिडियोसहित)

काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको एक स्वरमा विरोध जनाएका छन् । बुधवार नेपाली कांग्रेस, समाजवादी पार्टी, नेपाल, राजपा नेपाल र राप्रपाको संयुक्त बैठक बसी लोकतान्त्रिक मुल्य मान्यता विपरित अध्यादेश ल्याइएकोले त्यसलाई फिर्ता गर्न माग गरेका छन् । साथै सरकारको कदमको विरोधमा आन्दोलन अगाडी बढाउने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, नेपाल र राप्रपाको बैठक बसी सरकारले सोमबार ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको एकै स्वरमा विरोध जनाएका छन् । सरकारले संसदीय अभ्यास, लोकतान्त्रिक मुल्यमान्यता विपरित गलत मनशायले अध्यादेश ल्याएकोले यसको खुलेर र एकमत भएर विरोध जनाउने सहमती गरेका छन् । बैठकपछि बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको अध्यादेश अहिलेको राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने गरी आएको बताउनुभयो । लोकतन्त्र, सुशासनलाई आँच पु¥याउँदै कुनै एक व्यक्तिलाई सर्वशक्तिमान बनाउने कुनियतका साथ अध्यादेश आएकाले सबै एकजुट भएर त्यसको विरोध गर्ने बताउनुभयो । बैठकले सामाजिक दुरी कायम राख्दै तुरुन्तै संसद बैठक बोलाउनुपर्ने र संसदमा छलफल गर्नुपर्ने माग राखेको छ । साथै सम्पूर्ण बुद्धिजिवी, नागरिक समाज र प्रादेशिक दलको समेत साथ लिएर आन्दोलन गर्न सबै एक भएको जानकारी दिनुभयो ।

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको यस्तो अलोकतान्त्रिक कदमप्रति आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । सबैलाई साथमा लिएर आन्दोलनमा जाने उहाँको भनाई छ ।

त्यस्तै, समाजवादी पार्टी, नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई प्रहार गरी मुलुकमा अस्थिरता कायम गर्न लागेको बताउनुभयो । मुलुकलाई सर्वसत्तावादमा लान खोजिएको आरोप लगाउँदै यादवले अध्यादेश राष्ट्रहित विपरित रहेको तर्क गर्नुभयो । अरु साना दललाई फुटाउनको निम्ति अध्यादेश ल्याइएको चर्चा परिचर्चा चलिरहँदा यदि त्यसो गर्न लागिएको हो भने प्रधानमन्त्रीले मुलुकको निम्ति अपराध गरेको जिकिर गर्नुभयो । अध्यादेश जरुरी नभएको उहाँको भनाई छ ।

राजपा, नेपालका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले अध्यादेश सर्वसत्तावाद र अधिनायकवादतर्फ लाने गरी आएकोले यसको सबै मिलेर बिरोध गर्नुपर्ने बताउनुभयो । अहिले सत्तारुढ नेकपा लगायत सबै राजनीतिक दलहरुलाई जनताले राजनीतिक स्थिरता कायम गर्नको निम्ति मत दिएको उल्लेख गर्दै अस्थिरता सिर्जना गरेर मुलुकलाई अधोगती तिर धकेल्न खोजिएको बताउनुभयो । लोकतान्त्रिक मुल्यमान्या विपरित संवैधानिक निकाय कब्जा गर्न खोजिएको उहाँको भनाई छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board