9 April, 2020 2:30 pm


विदेशबाट आएकाहरुलाई निगरानी गर्न सकियो कोरोना नियन्त्रण गर्न सकिने अवस्था छ (भिडियोसहित)

काठमाडौं, २७ चैत ।  कोरोना भाइरस संक्रमणको महामारी विश्वव्यापी रुपमा फैलिइरहेको अवस्थामा नेपालमा भने निकै कम संख्यामा संक्रमित रहेका छन् । नेपालको हालको स्थितिलाई हेर्ने हो भने यो भाइरस नियन्त्रण गर्न सकिने अवस्थामा छ । सरकारले अन्र्तराष्ट्रिय उडान बन्द गर्नु, लकडाउन गर्नु लगायतले संक्रमण आउन नपाएको अवस्था छ भने नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता, र संक्रमणको मुख्य जोखिमसमुह रहेको उमेर समुह कम रहेको कारण पनि संक्रमण नफैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

विश्वव्यापी रुपमा यतिखेर कोभिड १९ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । संसारभर करीव १५ लाख मानिसहरु संक्रमित भइसकेका छन् । र, ८५ हजार जनाभन्दा बढीको मृत्यु भईसकेको छ ।

३ लाख १० हजार जना भन्दा बढी व्यक्ति उपचारपछि निको भइसकेका छन् । दिनप्रतिदिन फैलिदै गइरहेको कोरोना भाइरसले लगभग दुइ तिहाइ विश्वलाई नै लकडाउन गर्नुपर्ने स्थितिमा पु¥याएकोे छ । विज्ञान र प्रविधिमा निकै नै फड्को मारेको भनिएको विश्वको अहिलेको अवस्थामा पनि यो महामारीले विज्ञानको युगलाई नै चुनौति दिइरहेको छ ।

औषधि पत्ता लगाउन विश्वभर खोज, अनुसन्धानहरु जारी रहेका छन् तर यसको औषधि अझै पत्ता लाग्न सकेको छैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने यो महामारी संसारभर फैलाउन मानिसहरुकै भुमिका रहेको छ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको वृद्धवृद्धा, बालबालिका कोरोना संक्रमणको सिकार भएको तथ्यांकले देखाएको छ ।

त्यसको अर्थ युवापुस्तामा संक्रमण नै नहुने भन्ने होइन । युवा पुस्तालाई पनि संक्रमण हुन्छ । रोग प्रतिरोधात्मक क्षमता युवामा बढी हुने हुनाले बढी जोखिम समुहमा युवाहरु नपर्ने भनेको मात्रै हो । नेपालमा पनि कोरोना संक्रमण प्रवेश गरिसकेको छ । हालसम्म नौ जना व्यक्तिमा कोभिड संक्रमण पुष्टि भईसकेको छ, ती सबैको अवस्था सामान्य रहेको छ ।

एकजना त निको भएर फर्किसकेको अवस्था छ भने दर्जनौँ आइसोलेशनमा बसेका छन् । हजारौँलाई क्वारेन्टाइनमा राखिएको सरकारले जनाएको छ । यद्यपी छिमेकि मुलुक चिनबाट शुरु भएको कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिंदासम्म नेपालमा यसले क्षति पु¥याउन सकेको छैन । छिमेकी भारतमा समेत हजारौँको संख्यामा संक्रमित छन् तर नेपालमा यसको असर त्यति परेको छैन । हुनत असर नपरोस् भनेर सरकारले एकजना संक्रमित देखिन बित्तिकै अन्र्तराष्ट्रिय उडान बन्द गर्यो । मुलुक लकडाउन गरिएको पनि दुईहप्ता पुग्यो । अझै एकहप्ता बाँकी नै छ । यसले नेपालमा संक्रमित हुनबाट जोगाएको छ ।

विदेशबाट आएकाहरुलाई निगरानी गर्न सकियो भने नेपालमा यसको नियन्त्रण गर्न पनि सकिने अवस्था छ । प्रधानमन्त्री ओलीले समेत सामाजिक दुरी कायम गरेर लकडाउनको पूर्ण पालना गरे र छिमेकी मुलुक भारत लगायत विदेशबाट आउनेहरुले क्वारेन्टाइनमा अनिवार्य बसे अथवा स्वास्थ्य संस्थामा गए कोरोना संक्रमण नफैलने बताउनुभएको छ । यद्यपी आगामी दुईहप्ता मुलुकको लागि चुनौतीपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

नेपालमा संक्रमण फैलने हो कि भन्ने मनोवैज्ञानिक त्रास ब्याप्त छ । तर संक्रमण बाहिरबाट आएकोमा एकजनालाई मात्रै नेपालमा भएकोलाई सरेर महामारी दोस्रो चरणमा प्रवेश गरेको सरकारले बताएको छ । यद्यपी नेपालमा पहिलेदेखि नै ध्यान पु¥याएको भए अहिलेको संख्यामा पनि कोरोना संक्रमण नदेखिने अवस्था हुनसक्ने विज्ञहरुको भनाइ छ । किनभने अन्र्तराष्ट्रिय उडान बन्द गर्नु, लकडाउन गर्नु र विश्व स्वास्थ्य संगठनले दिएको गाइडलाइनलाई पूर्ण पालना गर्नाले नेपालमा संक्रमण बढ्न सकेको छैन । त्यसैगरी नेपालमा युवा जनसंख्या बढी हुनु र कोभिड–१९ का लागि मुख्य जोखिम समुहको जनसंख्या कम हुनुले संक्रमण नदेखिएको हुनसक्ने भनाईहरु पनि छन् ।

हुनत नेपालमा ठुला महामारीहरु पछिल्लो समय देखापरेका छैनन् । र यो महामारीमा पनि नेपालमा क्षति नहुने कुरामा विज्ञहरु विश्वस्त देखिन्छन् । बिदेशमा लाखौँको संख्यामा देखिनु, त्यसमाथि पनि हावासरी संसारभर फैलिइरहेको अवस्थामा नेपालमा नदेखिनुले सकारात्मक सन्देश दिएको छ । महामारीको अवस्था आएमा त्यसको रोकथामको निम्ति सरकारले चाल्नुपर्ने कदमबारे सरकारलाई पूर्वतयारी गर्ने समय पनि दिएको छ । महामारी भोलि नआउला भन्न सकिन्न तर आज हालसालै महामारीको रुप नदेखिनु नेपालीको रोग प्रतिरोधात्मक क्षमता अथवा अन्य विविध कारण हुनसक्ने बताउनुहुन्छ डा. समिरमणि दीक्षित ।

लकडाउनले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा पुराउन रोकेकोले लकडाउनलाई सकारात्मक रुपमा लिनुपर्ने डा. दीक्षितको भनाई छ ।
नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको भए पनि संख्याको हिसाबले हामी थोरै संक्रमण दरमा छौँ । जुन नियन्त्रण गर्न सकिन्छ । र खुल्ला सिमानाका कारण जोखिममा पनि उत्तिकै छौँ । हामिले रोग फैलिन नदिन नियन्त्रण गर्न सक्छौँ । यसको निम्ति सरकारले चालेका कदममा सबैको सहकार्य जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board