17 March, 2020 1:58 pm


बजारमा बिचौलियाको दबदबा : किन जनता जहिल्यैपनि अप्ठेरोमा ? (भिडियोसहित)

काठमाडौं, ४ चैत । बजारमा पेट्रोलियम पदार्थ पेट्रोल, डिजेलको कृत्रिम अभाव सिर्जना गरिन थालेको छ । सर्वसाधारणले पेट्रोलियम पदार्थ पाइन छाडेको गुनासो गरेका छन् । संसदीय समितिले सोमबार नेपाल आयल निगमको काठमाडौँ कार्यालयको अनुगमन गर्दै पेट्रोलियम पदार्थ आयात र खपतमा कुनै समस्या नरहेको देखिएकोले थप अध्ययन गरेर सरकारलाई निर्देशन दिने बताएको छ भने आयल निगमले पेट्रोलियम पदार्थको अभाव नरहेको भन्दै उपभोक्तालाई नआत्तिन अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको त्रास देखाउँदै नेपालमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न थालिएको छ । अहिले बजारमा कोरोना संक्रमणका कारण भारतबाट आपूर्ति कम भए पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंका गर्दै कतिपय पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ लुकाउन थालेका छन् । अर्कातर्फ पहुँचवालाहरुले तत्कालको लागि आवश्यकताभन्दा बढी पेट्रोल तथा डिजेल खपत गर्न थालेपछि बजारमा अभाव सिर्जना हुन थालेको छ । सर्वसाधारण पेट्रोल, डिजेल किन्न पेट्रोलपम्प जाँदा पेट्रोलियम पदार्थ नपाएको गुनासो गर्छन् । सरकारले कालोबजारी नियन्त्रणमा चासो नदेखाएको सर्वसाधारणको भनाई छ ।

बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भइरहेको अवस्थामा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीले सोमबारे काठमाडौँस्थित नेपाल आयल निगमको बाग्मती प्रादेशिक कार्यालयमा स्थलगत अनुगमन गरेको छ । समिती सदस्यहरुले थानकोटमा रहेको निगमको कार्यालय र पेट्रोलियम पदार्थको अवस्थाको सम्बन्धमा अनुगमन गरेका हुन् । बाग्मती प्रादेशिक कार्यालयबाट काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप र दोलखामा रहेका १८० पेट्रोलपम्पहरुमा पेट्रोल तथा डिजेल वितरण हुँदै आएको छ । निगमका अनुसार दैनिक ६ लाख लिटर पेट्रोल र ९ लाख लिटर डिजेल आयात हुने गरेको छ र उत्तिकै दैनिक रुपमा खपत पनि हुने गरेको छ । निगममा हाल ५३ लाख लिटर पेट्रोल र ८४ लाख लिटर डिजेल भण्डारण रहेकाले पेट्रोलियम पदार्थको अभाव भएमा त्यसले सामान्यतया ७ दिनसम्ममा बजारमा वितरण गर्न पुग्ने बताइएको छ ।

रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ सहज रुपमा आइरहेको र बजारमा पनि पुगिरहेकोले निगमको कारण बजारमा अभाव सिर्जना नभएको नेपाल आयल निगम बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनितमणि उपाध्यायले बताउनुभयो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीका सदस्यहरुले बजारमा देखिएको अभाव र जनगुनासो बढेको कारण अनुगमन गर्नुपरेको बताए । आयल निगमले साबिककै सरह पेट्रोल तथा डिजेल वितरण गरिरहेको भए पनि बजारमा कृत्रिम अभाव सिर्जना गरिएको पाइएको समितिका सदस्यहरुको भनाई छ । बजारमा कृत्रिम अभाव सिर्जना गरिएको पाइएको समिती सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

समिति सदस्य प्रकाश रसाईली स्नेहीले उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । भारतबाट अझै पेट्रोलियम पदार्थ आयात गर्न सरकार सम्बेदनशिल हुनुपर्ने उहाँको भनाई छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिती सभापति विमल प्रसाद श्रीवास्तवले बजार हल्ला र आशंकाको भरमा पेट्रोलियम पदार्थ अभाव देखिएको भए पनि आयात भने उल्लेख्य मात्रामा भइरहेकोे अनुगमनको क्रममा भेटिएको बताउनुभयो । अझै आवश्यक अध्ययन गरेर समितिले सरकारलाई निर्देशन दिने उहाँको भनाई छ । आयल निगमले पेट्रोलियम पदार्थको अभाव छैन भने पनि, संसदीय समितिले अनुगमनको क्रममा सबै ठिकठाक देखे पनि बजारमा पेट्रोलियम पदार्थको अभाव छ । अभाव अभाव नै हो, कृत्रिम होस् अथवा स्वाभाविक । आम नागरिकलाई कुनै पनि बहानामा अभावको अवस्थामा पारिनु हुँदैन । सरकारले पनि कालोबजारी गर्नेलाई कारबाही गरी सरकार हुनुको अनुभुति दिलाउन सक्नुपर्छ ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board