31 January, 2020 10:54 am


सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष अभियान सुरु (भिडियोसहित)

झापा , १७ माघ । देशभरको शैक्षिक अवस्थाको कुरा गर्ने हो भने नीजिको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खासै राम्रो छैन । शिक्षामा अर्बौ लगानी भए पनि सामुदायिक विद्यालयहरुमा पढाई सुध्रिन सकेको छैन । तर, पछिल्ला केही वर्षयता कतिपय सामुदायिक विद्यालयहरुले आफुलाई पुनः शैक्षिक केन्द्र बनाउन प्रयास गरिरहेका छन् । झापाको कचनकवल गाउँपालिकाले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष अभियान सुरु गरेको छ ।

झापाको कचनकवल गाउँपालिकाले चालु आर्थिक बर्ष २०७६।७७ मा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छुट्टै बजेट विनियोजना गरेको छ । सोही बजेटबाटै गाउँपालिकाले यसबर्ष देखि एक वडा ः एक नमुना बाल विकास केन्द्र स्थापना कार्यको थालनी गरेको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कचनकवल ५ डाँगाबारी स्थित पशुपति प्रथामिक विद्यालयमा नमुना बाल विकास केन्द्रको स्थापना गर्दै वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र लिङ्देन र गाउँपालिका अध्यक्ष अञ्जार आलमले नमुना बाल विकास केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद राजेन्द्र लिङदेनले भौतिक पूर्वाधारसँगै गाउँपालिकाको शिक्षा क्षेत्रमा विशेष लगानी गरिएको बताए ।

गाउँपालिका र संघीय सांसदको क्षेत्र विकास कोषबाट प्राप्त बजेटले यसबर्ष गाउँपालिकाको सात वटै वडामा सात वटा नमुना बाल विकास केन्द्रको स्थापना गरिदैछ । गाउँपालिकाले अहिलेसम्म विकास निर्माणको कामलाई मात्र तिव्रता दिँदै आएको छ । तर, विकासको मुल जड नै शिक्षा रहेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

पशुपति प्राविमा स्थापना गरिएको नमुना बाल विकास केन्द्रसँगै गाउँपालिकामा शैक्षिक सुधारको कामको सुरुवात भइसकेको छ । वाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्न व्यवस्था मिलाइएको छ । नमुना केन्द्रमा मण्टेश्वरी विधिसहित खेल सामग्री, सिकाई सामग्री, टेलिभिजन, एटेच शौचालय, स्वच्छ खानेपानी र पंखा जडान कार्यमा विशेष जोड दिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले बताए ।

आदिवासी समुदायको बाहुल्यता रहेको गाउँमा २०२९ सालमा पशुपति प्राविको स्थापना भएको हो । नीजि विद्यालय विस्तार हुनु अघि यस विद्यालयमा विद्यार्थीको चाप उच्च थियो । तर, अहिले विद्यार्थीको संख्या घट्दो क्रममा रहेको विद्यालयका प्रधानाध्यापक अनिल कुमार गणेशलेब बताउनुभयो ।

गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय रहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ कक्षासम्म निःशुल्क र छात्रालाई कलेजमा निशुल्क शिक्षाको व्यवस्था गरेको छ । साथै प्राविधिक शिक्षालाई समेत जोड दिँदै लगिएकोले विद्यार्थीमाथि गाउँपालिकाले ठूलो लगानी थालेको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board