26 January, 2020 2:06 pm


विवाद समाधान गरेको कांग्रेसको दाबी, विवादकै कारण कांग्रेस मूलधारको राजनीतिमा कमजोर (भिडियोसहित)

काठमाडौं, १२ माघ ।  नेपाली कांग्रेसले प्रतिपक्षी दलसँगको गठबन्धन बनाउन नसक्दा राष्ट्रिय सभा निर्वाचनमा पराजय भोग्नुपरेको छ । कांग्रेसले संसदीय मोर्चा र राष्ट्रिय राजनीतिमा सशक्त भुमिका निर्वाह गर्न नसकेको कार्यकर्ता तहबाट व्यापक गुनासो आइरहँदा नेताहरु भने त्यसको बचाउ गर्छन् । राष्ट्रिय सभा निर्वाचनको मत स्वभाविक रहेको तर्क गर्छन् भने नेतृत्वले पार्टीलाई ठिक ढंगले लानुपर्ने सुझाव पनि दिइरहेका छन् ।

माघ ९ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा १८ जनामा १६ जना नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार विजयी भए । प्रदेश नं. २ मा २ जना राजपा, नेपालका उम्मेदवारले पनि जित हात पारे । कांग्रेसले अलिअलि आश गरेको प्रदेश २ मा पनि नेकपा–राज गठबन्धन नै विजयी भयो ।

अन्य प्रदेशमा त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि हात लागी शुन्य हुनु नै थियो । जे हुनुथियो त्यो भयो । संसदीय राजनीतिमा मुद्धाको हिसाबले होस् अथवा अंक गणितीय हिसाबले, कांग्रेस झन झन कमजोर भइरहेको छ भन्ने पछिल्लो राष्ट्रिय सभा निर्वाचनको मत परिणामले पनि देखाएको छ । राष्ट्रिय सभामा कांग्रेस अब नाम मात्रको प्रतिपक्षी बनेको छ ।

नेपाली कांग्रेसले समयछंदै राजपालाई समेत साथमा लिने गरी प्रतिपक्षी दलको मोर्चा बनाएको भए मात्र प्रदेश नं. २ बाट जित हासिल गर्न सक्थ्यो । यसको नेतृत्व कांग्रेसले गर्न सकेन । अब समय घर्किसकेपछि कांग्रेस नेतृत्वको आलोचना हुन थालेको छ । राष्ट्रिय राजनीतिमा कांग्रेस नेताहरुको कमजोर उपस्थिति रहेको भन्ने आरोप लागिरहँदा राष्ट्रिय सभा निर्वाचन परिणामले कांग्रेसलाई थप भित्तामा पुर्याएको छ ।

अन्य प्रदेशमा नेकपाले जित्ने प्रष्टै थियो, तर चुनावी एजेण्डालाई कांग्रेसले जोडतोडका साथ उठाउन सकेन । जबकी, अहिले उठाएको एजेण्डाले दुई वर्ष पछि हुने स्थानीय तह निर्वाचन र अर्को आम निर्वाचनका लागि राजनीतिक स्थान सुरक्षित बनिरहन्थ्यो । सत्तारुढ दलका कमी कमजोरीलाई जनप्रतिनिधीका अघि पुराएर सचेत गराउने र आफ्नो कुरा राख्ने अबसरको रुपमा कांग्रेसले उपयोग गर्न चुकेको छ ।

र्वाचनमा कांग्रेसको उपस्थिति पनि कतै थियो र भन्ने अवस्था देखिएको छ अहिले । शिर्ष नेताहरु घरझगडामै रुमल्लिरहंदा कार्यकर्ता तह भने झनझन निराश बनेको छ । मध्यम स्तरका नेताहरुले भने प्रतिपक्षी दलको गठबन्धन बनाउन नसकिएको स्वीकार गर्दै पराजयलाई स्वभाविक रुपमा लिएका छन् ।

त्यसो त, कांग्रेसको आन्तरिक कलह पेचिलो बन्दै गइरहेको छ । आन्तरिक किचलोको मारमा थलिएको कांग्रेस गुटको छुट्टै भेला राख्ने स्थितिसम्म पुगिसकेको छ । संस्थापन र संस्थापन इतरका समुहविच विभिन्न भातृ संगठन हुँदै जिल्ला तहसम्मै चिरिने अवस्था देखिएको छ । सभापतिले असन्तुष्ट पक्षका नेता तथा सभापतिहरुलाई भेट गरेपनि कांग्रेस विवाद हल हुन सकेको छैन । विवाद मिलाउन भन्दै सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार पनि शिर्ष नेताहरु भेला भएका छन् तर सहमति भेटिएको छैन । सडक, सदन र पार्टीको आन्तरिक जिवनमा पनि राम्रो भुमिका निर्वाह गर्न नसकेको आरोप लागेको कांग्रेसमा बढी त शिर्ष नेताहरुकै आलोचना हुने गरेको छ ।

यसरी पार्टी भित्रै मिल्न नसकेको कांग्रेसले कसरी सत्तारुढ दलको कमी कमजोरी खोजी गर्न सकोस ? अनि कसरी चुनाव जितोस् ? कांग्रेस आफ्नै कारणले दिन प्रतिदिन निरिह र कुइरोमा हराएको काग जस्तै भइरहेको छ । कांग्रेस प्रतिपक्ष होइन, सत्ताको सहयोगी हो भनेर टिकाटिप्पणी नै हुन थालेको छ । गुटबन्दी, आशंका र आलोचनाले गलाएको छ कांग्रेसलाई । त्यसलाई सुधार्नु आवश्यक छ ।

नेपालको पुरानो पार्टी कांग्रेसभित्रको विवादले स्वभाविक रुपमा सिंगो राजनीतिलाई नै असर पार्छ । किनभने संसद र सडकमा प्रतिपक्षी दलले खबरदारीको भुमिका निर्वाह गर्न सकेन भने सरकारका गतिविधि पनि एकतन्त्रीय हुनसक्छन् । आन्तरिक कलह र किचलोमा फसेको कांग्रेसले राष्ट्रिय राजनीति र संसदको मोर्चा प्रभावकारी रुपमा सम्हाल्न नसकेको स्वीकार गर्नुपर्छ । प्रतिपक्षीको भुमिका कमजोर देखाएको स्वीकार्दै बलियो प्रतिपक्ष बन्न सके मात्र कांग्रेसको भविष्य फर्किन सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board