26 January, 2020 1:47 pm


नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

काठमाडौं, १२ माघ ।   नेपाल कम्यूनिष्ट पार्टी नेकपाको आसन्न केन्द्रीय कमिटी बैठकका निम्ति नेताहरु तयारी गरिरहेका छन् । केन्द्रीय कमिटी बैठकमा संगठनात्मक एकतालाई टुंग्याइ पार्टीलाई जीवन्तता दिने, वैचारिक विषयमा छलफल गर्ने सचिवालय र स्थायी कमिटीका निर्णयलाई अनुमोदन गर्ने विषयमा छलफल हुने नेताहरुको भनाई छ । केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई खुलेर सुझाव र टिप्पणी गर्नुपर्ने र पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिदै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय कमिटी बैठक माघ १५ गतेदेखि शुरु हुँदैछ । पार्टी एकिकरणपछि पहिलोपल्ट निर्वाचन आयोगमा दर्ता गर्दाको बखत केन्द्रीय कमिटी सदस्यको सपथ गराउन र औपचारिकता पुरा गरेर आयोगमा दर्ता गर्नको निम्ति केन्द्रीय कमिटी बैठक बसेको थियो । पार्टी एकिकरणको दुई वर्ष पुरा भइसक्दा पनि केन्द्रीय कमिटी बैठक बस्न नसकेको भन्दै पार्टी भित्र तिव्र आलोचना र टिप्पणीहरु भइरहेका थिए । दोस्रो पटक बस्न लागेको केन्द्रीय कमिटीको यस बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

यो बैठकले पार्टीलाई गतिशिलता दिने नेताहरुले बताइरहेका छन् । अधिकारसम्पन्न केन्द्रीय कमिटीको बैठक बस्न नसक्दा नेकपामा सचिवालयले आजसम्म निकै नै महत्वपूर्ण र दुरगामी असर पर्ने निर्णयहरु गर्दै आएको छ । सचिवालयले गरेका निर्णय स्थायी कमिटी बैठकमा छलफल भएका हुन् तर ति सबै निर्णयहरुलाई केन्द्रीय कमिटीमा छलफल गरी अनुमोदन गर्नुपर्ने हुन्छ । खासगरी केन्द्रीय कमिटी सदस्यहरु गाउँगाउँमा छन् । जनतासँगको सम्बन्ध र दैनिकीमा माथिल्लो नेताहरुभन्दा उनीहरु परिचित छन् ।

तल्लो तहमा नेकपाको गतिविधि कस्तो भइरहेको छ ? पार्टीबाट नेता, कार्यकर्ता र जनताले के चाहिरहेका छन् ? उनीहरुले नेतृत्वलाई भन्न नपाएको गुनासो गर्दै आइरहेका छन् भने कतिले त केन्द्रीय कमिटी सदस्य नै भुमिका विहिन भएको भन्दै दुखेसो पनि पोख्दै आएका छन् । यस्तो अवस्थामा शिर्ष नेतृत्वहरुले केन्द्रीय सदस्यहरुको कुरा सुनेर पार्टीको आगामी कार्यदिशा बनाउने र पार्टीलाई अझै गतिशिल बनाउनको निम्ति यो बैठक ऐतिहासिक र महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ । विशेषगरी समसामयिक राजनीति र अध्यक्षद्धयको प्रतिवेदनमै बैठक केन्द्रीत हुने नेकपाका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बताउँछन् ।

नेकपामा वैचारिक विषयमा पनि पछिल्लो समय मतान्तर देखिएको छ । गत स्थायी कमिटी बैठकमा नै यसको झल्को देखिइसकेको छ । केन्द्रीय कमिटी बैठकमा वैचारिक विषयमा पनि छलफल हुन सक्ने नेताहरुले आँकलन गरेका छन् । वर्षौदेखि ढिलो भइरहेको पार्टी एकताको कामलाई पूर्णता दिने र सरकारको कामको प्रभावकारीताको विषयमा पनि छलफल हुने नेताहरु बताउँछन् ।

साढे चार सय केन्द्रीय सदस्य सहभागी हुँदा सबैले छलफलमा भाग लिन पाउँछन् त ? कि बैठक औपचारिकताजस्तो मात्रै बन्ने हो ? भन्नेमा नेताहरु नै सशंकित छन् ।

प्रशस्त समयको माग पनि गरिरहेकै छन् । त्यसो त सचिवालयले गरेका कयौँ निर्णयहरु पार्टी विधान विपरित भएको भन्दै आलोचना हुने गरेको छ, ति सबै निर्णय केन्द्रीय कमिटीमा अनुमोदन हुन आउनेछन् । नेताहरुले सबै निर्णय सहजै पास गराउन दिन्छन् या दिदैनन् यो विषय पनि रोचक बन्ने छ । यसका अलावा सचिवालयमा देखिएको असहमती र असमझदारीहरु केन्द्रीय कमिटीमा देखिने खतरा पनि छ । सबै विषयमा केन्द्रीय कमिटी सदस्यले कुनै शिर्ष नेताको प्रभाव र दबाबमा नपरी राख्नुपर्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन् ।

कतिपय केन्द्रीय सदस्यहरु सचिवालय र स्थायी कमिटीकै एजेण्डाहरु केन्द्रीय कमिटी बैठकमा आउँने बताउँछन् । आफ्ना भावना र विचार माथिल्लो तहकै बैठकमा समेटिएको उनीहरुको तर्क छ । यद्यपी, आउने प्रतिवेदनमा आवश्यक थपघटका लागि सुझाव दिने तयारी उनीहरुको छ ।

केवल औपचारिकताको निम्ति होइन, पार्टीलाई गतिशिलता प्रदान गर्न, पार्टीलाई जिवन्त बनाउन र केन्द्रीय कमिटीलाई अधिकार सम्पन्न गराउनको निम्ति यो बैठक ऐतिहासिक बनाउन नेतृत्व तहले सोच्नुपर्छ । केन्द्रीय सदस्यहरुले पनि ग्राउन्डको बास्तविकतासहित शिर्ष नेतृत्वमाझ आफ्नो विचार र सुझाव खुलस्त राख्न सक्नुपर्छ । बैठक कसरी अघि बढ्नेछ त्यो भने हेर्न बाँकी नै छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board