24 January, 2020 8:41 am


नेकपाबाट नेता कार्यकर्ताका लागि ११ बुंदे आचारसंहिता जारी, शिर्ष नेतृत्व तहबाटै पालना हुनेमा आशंका (भिडियोसहित)

काठमाडौं, १० माघ । नेकपाले नेता कार्यकर्ताका लागि ११ बुँदे आचार संहितासहितको परिपत्र गरेपछि फेरि एकपटक शिर्ष नेताहरुको जीवनशैली माथि प्रश्न उठेको छ । शिर्ष नेताहरुले आफ्नो जीवनशैलीमा परिवर्तन नगर्ने हो भने आचारसंहिता तल्लोस्तरका कार्यकर्ता र राजनीतिक दुनियांलाई देखाउने खोष्टा बाहेक केही नहुने पक्का छ ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टी नेता कार्यकर्ताका लागि अन्तरपार्टी निर्देशिकामार्फत आचारसंहिता जारी गरेको छ । संगठन विभागले तयार पारेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरमा माघ ५ गते जारी भएको आचारसंहितामा नेता कार्यकर्ताको व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवनसम्मका विषयमा ११ बुदाँ समेटिएको छ ।

कम्युनिष्टहरु लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आत्मसात गर्दै फलामे अनुशासनमा बांधिन्छन् भन्ने भनाइलाई मान्ने हो भने अहिले नेकपाले जारी गरेको आचारसंहिताले पार्टी अराजकतातिर ओरालो लागेको प्रष्टै भन्न सकिन्छ । जसका कारण, नेतृत्वले पार्टीभित्र अनुशासन समाप्त हुंदै विचलन मौलाउँदै गएको प्रमाणित गरेको छ भन्ने कुरालाई स्वीकार गरेको छ ।

हुन त आचारसंहितालाई पार्टी शुद्धिकरणका लागि चालिएको अभियानको रुपमा लिइएको छ । आचार संहिता जारी गर्दै नेकपाले भनेको छ, पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ ।

तर, नेकपाले आचार सहिंता जारी गरेपनि संहिता अनुरुपको काम शिर्ष नेताहरुबाटै नभएको प्रमाणहरु दर्जनौं भेटिन्छन् । राज्यलाई ठग्ने ठग ठेकेदारहरुको संरक्षण नेकपाका माथिल्ला नेताहरुबाट भैरहेको कतैबाट छिपेको छैन । राज्यको सम्पत्तिमाथि राईंदाईं गर्न चाहनेहरुलाई संरक्षण मिलिरहेको पनि कतैबाट छिपेको छैन । नेताहरुको जीवनशैली, रवाफ कम्युनिष्ट नेता कार्यकर्ताको जस्तो नभई सामन्त÷पुंजिपति वर्गको जस्तै भइरहेको भन्दै तल्लो तहका कार्यकर्ता र शुभचिन्तकहरुबाट आलोचना हुँदै आएको छ । अब पार्टीलाई सुधार्छौ भनेर आत्मालोचना गर्दै आचारसंहिता लागु भएको हो भने सबैभन्दा पहिला यसको पालना शिर्ष तहबाटै हुनुपर्ने देखिन्छ ।

१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूबीच दिनभरी गर्नुपर्ने घरका काम सम्पन्न गर्न कार्यविभाजन गर्ने, खर्च मितव्ययी तवरले गर्ने, घरभित्र र बाहिर महिलाप्रति सम्मान प्रकट गर्ने परिवारमा गाली गलौज, झगडा, भेदभाव र छुवाछुत नगर्ने, आचारसंहितामा उल्लेख छ । कसैलाई पनि तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्ने जनाइएको छ । प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्दै जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्ने उल्लेख गरिएको छ । पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्ने र श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ भनिएको छ । नेकपाका नेताहरुलाई आर्थिक विचलनको आरोप बारम्बार लाग्दै आएको अवस्थामा यि लोभलाग्दा संहिता पालना होला नहोला शंकै छ ।

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्ने र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उमेदार बन्न बन्देज लगाउनुपर्ने भनिएको छ । तर कार्यान्वयनमा आशंकाहरु छन् । प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउ“, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउ“ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ भएपनि नेताहरुको पद लोलुपता सुविधा मोहका कारण माथिल्लो तहमा होइन अनुशासनको डण्डा केवल तल्लो तहमा मात्रै चल्यो भने नेकपाकै लागि आत्मघाती पनि हुनसक्छ ।

नेकपाले आचारसंहितालाई माथिदेखि तलसम्म हुबहु पालना गर्ने हो भने नेपालमा कम्युनिस्ट पार्टीले साच्चिकै नयाँ सन्देश दिनेछ । आचारसंहिता केवल देखाउनको निम्ति र आफुलाई आवश्यक पर्दा डण्डा चलाउनको निम्ति मात्रै होइन माथिल्लो तह देखि नै कार्यान्वयनमा आउनुपर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board