22 January, 2020 9:21 am


बुटवल भैहरवा व्यापारिक मार्ग विस्तार आयोजना कर्मचारीबिहीन (भिडियोसहित)

बुटवल , ८ माघ । राज्यले समृद्ध नेपालको नारालाई मुल नाराकारुपमा बनाए पनि समृद्ध नेपालको कार्यान्वयन गर्ने कर्मचारी निकायलाई भने राज्यको नारा “बाल मतलब” जस्तै बनेको छ ।

नेपालकै मुख्य नाका भैरहवा नाकासंग जोडीने ब्यापारीक मार्ग बिस्तार आयोजनाको कार्यालयमा बिभागले हाकिम त पठाएको छैन नै भएका कर्मचारीहरु पनि कार्यालयमा नबसीदिंदा सकिनै लागेको परियोजनाको काममा असर पर्ने देखिएको छ ।

बुटवल बेलहिया सडकलाई ब्यापारीक मार्ग बिस्तार आयोजना नाम दिएर राज्यले काम थालेको ९ वर्ष पुग्यो । ३ वर्षमा सक्ने लक्ष्यका साथ सुरु भएको २३ किलोमिटर सडक बनाउन राज्यलाई ९ वर्ष लाग्यो । अझै सडक बिस्तारको काम पुरा भएको छैन ।

आयोजनाको काम पुरा हुन बांकी नै रहंदा र परियोजना अन्तर्गत सडकमा लगाईएका सडक बत्तीको काम पुरै असफल भईरहंदा आयोजनको कार्यालय भने कर्मचारीबिहिन हुने गरेको छ । आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि चिडियाखोलाको सडक बिस्तारको काम अदालतमा बिचाराधीन छ ।

सडकमा जडान गरिएका सौर्य लाईटहरु बनाउंदा बनाउंदै बल्दैनन् । तर ती सबै कामको अनुगमन, निर्देशन र कार्यान्वयन गर्न रुपन्देहीको मणिग्राममा खुलेको कार्यालय कर्मचारीबिहिन छ ।

कार्यालय प्रमुख जिवेन्द्र मिश्रको सरुवा भएको २ महिना बढी भईसकेको छ । बिभागले मिश्रको स्थानमा कसैलाई खटाएको छैन । कार्यालयमा रहेका ३ जना ईन्जीनियरको पनि सरुवा निकालिएको छ तर नयां आउने ईन्जीनियरहरुको अत्तोपत्तो छैन ।

३ जना ईन्जीनियर, ४ जना सब ईन्जीनियर, १ जना लेखापाल र २ जना प्रशासनको दरबन्दी रहेको कार्यालयमा एबिसी टिम पुग्दा १ जना सरुवा भै सकेकी ईन्जीनीयर र १ जना सब ईन्जीनियर मात्र उपस्थित थिए । प्रशासनको दरबन्दी खाली भएको ३ महिना बढी भएपनि बिभागले कर्मचारी पठाएको छैन ।

माघे संक्रान्तीमा बिदा मान्न घर गएका कोहि पनि कर्मचारी कार्यालय फर्केका छैनन् । बिग्रेको सौर्य बत्तीको तथ्यांक माग्दा उपलब्ध गराउन नसकेकी ईन्जीनियर प्रकृति अधिकारीले कर्मचारी नभएपनि काम नरोकिएको दाबी गर्छिन् ।

सडक बिस्तार अन्तर्गत अदालतमा पुगेको मुद्दामा अदालतको आदेश अनुसार बुटवल नगर खण्डमा मुआब्जा दिनु नपर्ने छानबिन समितीले ठहर गरेकै दिनदेखि आयोजना कार्यान्वयन गर्ने कार्यालय, कर्मचारीबिहिन बन्यो । यस्तो अवस्थामा, सडक बिस्तारको काम कसरी सम्पन्न होला भन्ने आशंका गर्न सकिने अवस्था आएको छ । राज्यले समृद्ध नेपाल भनेर घोकिरहंदा २ दिन प्रदेश सरकारले दिएको बिदालाई ५ दिन सम्म मनाउने कर्मचारीहरुबाट समृद्ध नेपालको सपना साकार होला र ?

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board