13 January, 2020 11:54 am


सभामुख चयनको अन्योल कायमै रहेपछि प्रतिनिधिसभा बैठक निरन्तर प्रभावित (भिडियोसहित)

काठमाडौ, २८ पुस ।  पटक पटक स्थगित हुँदै आएको प्रतिनिधि सभाको आइतबारको बैठक पुनः स्थगित भएको छ । बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको हो ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिदा र सभामुख चयन प्रक्रियाको निम्ति नेकपाले नखुल्दा पटक पटक संसद बैठक स्थगित भएको छ । उपसभामुखलाई राजिनामा दिएर वातावरण सहज बनाउन नेकपा र सांसदहरुले आग्रह गरेका छन् ।

उपसभामुखबाट राजीनामा दिन गरेको नेकपाको आग्रहलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेपछि आइतबारको प्रतिनिधीसभा बैठक पनि बस्न सकेन ।

प्रतिनिधी सभाको आगामी बैठकले सभामुख चयनको प्रक्रिया अगाडी बढाउने सम्भावित कार्यसुचि रहेको छ । प्राकृतिक रुपमै संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपाले सभामुख आफ्नो पार्टीको मान्छे बनाउने स्पष्ट छ । तर, उपसभामुख नेकपाकै भएको अवस्थामा संवैधानिक रुपमा नेकपाले सभामुख नपाउने पनि निश्चित छ ।

त्यसका लागि उपसभामुख तुम्बाहाम्फेले राजीनामा गरेर सम्बैधानिक जटिलता खोल्दिन नेकपाले पटक पटक आग्रह गरेको छ । तर, आफ्नै पार्टीको आग्रहलाई तुम्बाहाम्फेले अहिले आफु कुनै पार्टीमा नभएको तर्क गर्दै अस्वीकार गरिरहेकी छिन् । जसकार कारण, सिंगो संसदीय प्रक्रिया नै बन्धक बनेको छ ।

यौन दुव्र्यवहार प्रकररणमा प्रकरणमा तत्कालिन सभामुख कृष्णबहादुर महरा मुछिएपछि उनले राजीनामा दिएसंगै प्रतिनिधिसभा सभामुख विहिन छ । हो, महराले गरेको गल्तीको सजायं तुम्बाहाम्फेले पाउनै हुंदैन । तर, आफ्नै पार्टीले गरेको निर्णयलाई तुम्बाहाम्फेले निरन्तर अस्वीकार गर्दै आएकी छिन् । यदि, तुम्बाहाम्फे नै सभामुख बनिन भने पनि अबको तीन वर्ष पछि तुम्बाहाम्फेका लागि मातृ पार्टी नेकपाको निर्णय नै बाध्यकारी हो । तर, तुम्बाहाम्फेले तीन वर्षे लाभका लागि उपसभामुखको पदबाटै सभामुखमा गरेको दाबी कताकता संगती नमिलेको देखिन्छ ।

पुष ४ गतेदेखि शुरु भएको संघीय संसदको पाचौ अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको दोस्रो बैठक पुष ११ गते शुक्रबार बोलाईएको थियो । तर उक्त बैठक लगातार स्थगित हुंदै आएको छ । अर्को बैठक माघ ६ गते सोमबार बोलाइएको छ । नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने रस्साकस्सीको बीचमा तुम्बाहाम्फे तुरुपले सभामुख चयनको उल्झन झन बढ्दैछ । तर नेकपाले भने कानुनत्ः तुम्बाहाम्फेको राजिनामा आउनुअघि कसैलाई सभामुख वा उपसभामुखको लागि निर्णय गर्न नसकिने बताउँदै आएको छ ।

नेकपाभित्रको भागबन्डा र किचलोकै कारण सभामुख चयन प्रक्रिया अवरुद्ध भएको कतै छिपेको छैन । पूर्वएमाले र पूर्वमाओवादी गुटको गन्ध सभामुख चयनमा प्रष्ट संग देखिएको छ । पार्टी एकभएपनि गुट विसर्जन गर्न नसकेको पीडा यतिबेला नेकपाले भोग्दैछ । तर, उपसभामुखको राजिनामा नपाउंदा नेकपाले किंकर्तव्यविमुख बनेको छ । सभामुखको अभावमा संसद सचिवालयले गर्नुपर्ने प्रशासनिक, आर्थिक, प्राविधिक काम समेत महिनौँदेखि रोकिएका छन् ।

त्यसो त, नेकपाका सांसदहरुलाई सभामुख चयन नगरेको, संसदीय भुमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसकेको भनेर जनताले आरोपित गर्न थालिसकेका छन् । सांसदहरुले शिर्ष नेताहरुलाई भेटी बारम्बार सभामुख चयन टुंग्याएर संसद सुचारु गर्न अनुरोध गरिरहेका छन् । तर नेकपाका शिर्ष नेताहरुको हातमा मात्रै अहिले परिस्थिति छैन । हिजोसम्म पार्टी नेतृत्वलाई दबाब दिइरहेका सांसदहरु अहिले उपसभामुखलाई नै दबाब दिन थालेका छन् ।

सभामुख चयनमा देखिएको उल्झनले शक्तिशाली पार्टीको भित्रको कमजोर निर्णय कार्यान्वयन क्षमता छताछुल्ल भएको छ । जसका कारण देशको सिंगो संसदीय प्रणाली नै अविश्वसनीय बन्न पुगेको छ । यस्तो अवस्था आइलाग्नु नेकपाका लागि राजनीतिक नोक्सानी बाहेक केही देखिदैन ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board