13 January, 2020 11:32 am


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधी अब १ वर्षमात्र बांकी, काम सक्न भने मुस्किल (भिडियोसहित)


काठमाडौ, २८ पुस ।  २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधी अब १ बर्ष मात्र बांकी छ । पांचवर्षमा पुनर्निर्माणका सबैकाम सम्पन्न गर्ने गरी गठन गरिएको प्राधिकरणले अझै धेरै काम गर्न बांकी छ । निर्धारित समयभित्रै काम सक्न प्राधिकरणलाई दबाब बढेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको चार वर्षमा ६२ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सकिएको छ । १५ प्रतिशत काम भइरहेको छ भने, १३ प्रतिशत निजी आवास निर्माण नै सुरु भएको छैन ।

भूकम्पमा घर क्षतिग्रस्त भएका ८ लाख २९ हजार ५७ मध्ये ७ लाख ७७ हजार ४६२ जनाले मात्र अनुदान सम्झौता गरेका छन् । निजी आवास निर्माणको प्रगति प्राधिकरणले सन्तोषजनक नै माने पनि स्वास्थ्य संस्था, सरकारी भवन, पूरातात्विक सम्पदाको पुनर्निर्माणमा सन्तोषजक प्रगति छैन ।

भूकम्पमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गठन भएको प्राधिकरणको म्याद अबको एक वर्षपछि, अर्थात २०७७ पुस १० गते सकिदैछ । बांकी एक वर्षभित्र निजी आवास पुनर्निर्मणको काम सकिनेमा प्राधिकरणका सीईओ सुशिल ज्ञवाली आशावादी छन् । काम नसकिएमा विपद व्यवस्थापन प्राधिकरणलाई बांकी काम जिम्मा लगाउन सकिने ज्ञवाली बताउंछन् ।

शिक्षण संस्थाको भवन पुनर्निर्माण १० प्रतिशत, स्वास्थ्य संस्था ५६ प्रतिशत, अन्य सरकारी भवन ८४ प्रतिशत सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ । सुरक्षा निकायका भवनतर्फ नेपाली सेनाको ३४ प्रतिशत, नेपाल प्रहरीको ६१ प्रतिशत सम्पन्न भएका छन् । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका क्षति भएको भवनहरुको पुनर्निर्माण भने शतप्रतिशत सकिएको छ ।

०७२ को भूकम्पले ३२ जिल्लाका ९२० वटा पुरातात्विक एवं सांस्कृति सम्पदामा पनि क्षति पुगेको थियो । तीमध्ये हालसम्म ३८९ को पुनर्निर्माण सकिएको छ । ३६७ वटा पुनर्निर्माणको प्रक्रियामा गएका र १६४ वटाको पुनर्निर्माण सुरु हुन बांकी छ । यीमध्ये रानीपोखरी पुनर्निर्माण आगामी वैशाखसम्म सक्ने लक्ष्य प्राधिकरणले लिएको छ । यस्तै, भूकम्पले ढलेको धरहरा नयां स्वरुपमा ठडाउने काम पनि अपेक्षित गतिमै भैरहेको प्राधिकरणको दाबी छ । धरहरा हालसम्म चार तलाको निर्माण भइसकेको छ । पाटन दरबारको १० प्रतिशत, भक्तपुर दरवार स्क्वायरको २० प्रतिशत, चांगुनारायणको ५ प्रतिशत, स्वयम्भूको ११ प्रतिशत, पशुपति क्षेत्रको पुनर्निर्माण ३५ प्रतिशत सकिएको प्राधिकरणको तथ्याङक छ ।
भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति ब्यहोरेको सिन्धुपाल्चोकका सांसद एवं पुनर्निर्माण प्राधिकरणका सदस्य अग्नी सापकाटा पुनर्निर्माणसम्बन्धी नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने बताउंछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बांकी रहेका पुनर्निर्माणको कामलाई यथाशिघ्र सम्पन्न गर्न प्राधिकरणलाई दबाब दिएका छन् ।

विनाशकारी भूकम्पले हजारौं नागरिकको ज्यान गयो । अर्बौंको भौतिक क्षतिभयो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दा खर्बौ रुपैयां खर्च भैसकेको छ । छिमेकी देश चीनको सिचुवान प्रान्तमा गएको भुईंचालो पछि गरिएको पुनर्निर्माण नवनिर्माणमा परिणत हुंदा दुई वर्षमै सिचुवानको रुपै फेरियो । आज सिचुवानमा भुईंचालो गएको विषय इतिहास बनिसकेको छ ।

विकास र समृद्धिको निरन्तर चर्चा भैरहे पनि नेपालमा भूकम्प गएको चार वर्ष वित्दा पनि पुनर्निर्माण सकिएको छैन । समयछंदा काममा ढिलाई गर्ने, समय घर्किन थालेपछि हतारो गर्ने नेपालको विकासे प्रवृत्ति राष्ट्र पुनर्निर्माणमा पनि देखिएको छ । यो प्रवृत्तिको अन्त्य गरी विकास र समृद्धिको वास्तविक आयाममा जनतालाई रमाउन दिन सरकारबाटै गम्भीर पहल आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board