10 January, 2020 1:35 pm


सभापति देउवा भन्छन्– सभापतिको भेलामा नबोलाउँदा चित्त दुख्यो (भिडियोसहित)

काठमाडौं, २५ पुस । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापतिहरुसँग देउवाले भेटवार्ता गरेका छन् । देउवाले जिल्ला सभापतिहरुलाई चियापानका लागि निम्ता गरेका थिए । सभापति देउवासंगको भेटमा जिल्ला सभापतिहरुले पार्टीमा सहमतिका लागि कुरा राखे । सदस्यता वितरणसम्बन्धि विधानको धारा निलम्बन गरेको र महाधिवेशनको कार्यतालिकाका विषयमा आफुहरुले असन्तुष्टि राखेको जुम्ला जिल्ला सभापति दीपबहादुर शाहीले बताए । ‘पार्टीको सदस्यता भातृ संगठनहरुले बाँड्न सक्ने भनिएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नो सदस्यता बाँड्न नसकिरहेको अवस्थामा पार्टीको सदस्यता कसरी बाँड्छ ?’ शाहीले तर्क गरे ।

दिनप्रतिदिन जिल्ला सभापतिहरुको हक कटौती भइरहेको विषयमापनि सभापतिहरुले कुरा राखेका छन् । जिल्ला सभापतिहरुसँग ब्रेकफास्ट मिटिङ गरको सभापति देउवाले भने महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने स्पष्ट पारे । तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन पनि दिए । वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने तर सभापतिको भेलामा पार्टी सभापतिलाई नबोलाउने भन्दै देउवाले चित्त समेत दुखाए । सभापतिमा आफुसंग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईहरु आउने तर बैठकमा आफुलाई खबर नगरेको भन्दै सभापतिले चित्त दुखाएको सभापति शाहीले बताए । भोलि विजयी जिल्ला सभापति विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईहरुको के हालत हुन्छ ?’ सभापति देउवाले तर्क गरेको शाहीले बताए ।

सभापति देउवाको कुरा सुनेर बाहिर निस्किएका नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले कांग्रेस एकजुट भएर अघि बढ्नुको विकल्प नभएको जिकिर गरे । केसीले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने सुझाव दिएको बताए ।
ब्रेकफास्ट मिटिङमा वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा सहभागि भएका जिल्ला सभापतिहरु र नभएको जिल्लाका सभापतिहरु पनि देउवासँगको भेटघाट कार्यक्रममा सहभागि भएका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संवादबाट सहमति र सहमतिबाट महाधिवेशन भन्ने भावना जिल्ला सभापतिहरुमा रहेको बताए । अहिलेको अवस्थामा पार्टी एकमत भएर अघि बढ्न जरुरी रहेको जिल्ला सभापतिहरुको निष्कर्ष रहेको शर्माले बताए ।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पु¥याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो । पौडेलले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाउनुभएको थियो । भेला तीन दिनसम्म चलेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board