7 January, 2020 1:39 pm


अमेरिका र इरानबीच युद्ध हुँदा नेपाललाई पर्छ यस्तो असर ( भिडियोसहित )

काठमाडौं, २२ पुस। पश्चिम एसियाका देशहरूबीचको सम्बन्ध यति जटिल छ कि को कसको दुश्मन हो र को कसको मित्र हो भनेर छुट्टयाउनै गाह्रो छ । तर, अमेरिका र इरानबीच युद्ध भएमा पश्चिम एसिया नै युद्धमा होमिने छ । र, पश्चिम एसियामा हुने हरेक द्वन्द्वको असर नेपालजस्तो मुलुकमाथि पनि पर्ने देखिन्छ ।

लाखौँ नेपालीहरू साउदी, ओमान, कतार, संयुक्त अरब इमिरेट्स जस्ता देशहरूमा कार्यरत छन् । युद्धको स्थितिमा उनीहरूको ज्यान पनि जोखिममा पर्न सक्छ । युद्ध धेरै समय चलेमा उनीहरू नेपाल फर्किन बाध्य हुनेछन् । त्यसपछि नेपालमा उनीहरुले सजिलै रोजगारी पाउने छैनन् । यसका कारण नेपाल भित्रिने रेमिट्यान्समा ठूलो धक्का पर्नेछ र रेमिट्यान्समा आधारित अर्थतन्त्रमा संकट देखिनेछ ।

त्यस्तो बेला सरकारको वैदेशिक मुद्रा सञ्चितिले आयात धान्न नसक्ने स्थिति पनि आउन सक्छ । रेमिट्यान्स घटेका कारण आयात शक्तिमा ह्रास हुनुका साथै नेपालले अर्बौं खर्च गरेर आयात गर्ने पेट्रोलको भाउ आकासिन सक्छ । विदेशी मुद्रा सञ्चिति नहुँदा महंगो इन्धन आयात गर्न नसक्ने अवस्थामा देश पुग्न सक्छ र देशमा नाकाबन्दीको जस्तै उर्जा संकट आइ पर्न सक्छ ।

पश्चिम एसियामा हुने द्वन्द्वका कारण नेपाली तथा नेपाल आउने जाने गर्ने विदेशीहरूको हब बनेको कतार एयरपोर्टमा पनि समस्या आउन सक्छ । जसका कारण नेपालको भ्रमण वर्षले लिएको २० लाख पर्यटक भित्र्याउने लक्ष असफल हुन सक्छ ।

तर, २८ जून, १९१४ मा अष्ट्रियाको सिंहासनका उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या युरोपको सानो सहर सारायेभोमा हुँदा नेपालका कमैले सोचेका थिए होलान् त्यसपछिको युद्धमा २० हजार गोर्खाली मारिनेछन् ।

अमेरिका र इरानबीच युद्ध भएमा दुवै देशले मात्र नभएर संसारले नै ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।

साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दीका कारण कतार एयरवेज अहिले इरानको आकाश भएर उड्ने गरेको छ । यदि इरानमा पनि समस्या भयो भने यसमा थप अप्ठ्यारो पर्न सक्छ ।

विश्लेषकहरू युद्धका कारण हुने ठूलो क्षतिको आँकलन गरेकाले अमेरिका र इरान एक अर्कामाथि नै जाइ लाग्नुभन्दा अरू देशहरूमा ‘प्रोक्सी वार’ मै लड्ने आँकलन गर्दछन् ।

 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board