6 January, 2020 12:10 pm


बुटवल मेलामा अवलोकनकर्ताहरुको ध्यान कृषि संग्रालयमा ( भिडियोसहित)

बुटवल, २१ पुस । सामान्यतया मेला र महोत्सवहरु उत्पादित सामानको प्रदर्शन गर्ने, खरिद बिक्री गर्ने तथा मनोरन्जन लिने उद्देश्यमा केन्द्रित हुने गर्दछ ।

अन्तराष्ट्रिय अभ्यासमा त मेलाहरु बिषयगत प्रबिधिको जानकारी गराउने कुरामा नै बढी केन्द्रित हुने गर्छन । तर, नेपालमा मेला भन्ने बित्तिकै नाचगान, खेल, मनोरन्जन सबै परिकार नभै नहुने अवस्था हुने गरेको छ । बुटवलमा जारी मेलामा भने अवलोकनकर्ताहरुको ध्यान कृषि संग्रालयले खिच्न सफल भएको छ ।

बांस वा नियालोले बुनेको सोली, रोटी राख्ने थुन्से, महि मथ्ने मदानी केलाई भनिन्छ भनेर सोधियो भने नयां पुस्ताका युवाहरुले यसको उत्तर दिन नसक्लान आज भोलि । कुनै बेला उज्यालोका लागि प्रयोग गरिने मयन्टोल, दियो, पानस, अन्न सुकाउने मान्द्रो, घिउ जमाउने ठेकी आजभोलीका युवाहरुलाई अनौठो वस्तु लाग्न सक्छ । तर, बुटवलमा जारी औद्योगिक मेलाको २० औं संस्करणमा भने हाम्रा पुर्वजले प्रयोग गर्ने सबै कृषि समाग्रीहरुलाई जस्ताको तस्तै प्रदर्शन गरिएको छ ।

पहिले पहिले फलामको औजार बनाउन अपानाईने प्रबिधी आरन मेलामा देख्न सकिन्छ । धान कुट्ने ढिकी होस् वा गहुं, कोदो , मकै पिस्ने जांतो मेलामा देख्न सकिन्छ । हलो, जुवा, महि मथ्ने नेटी, ठेकि देखि परालको टौवा र मकैको झोट्टा देखि पशुको मुखमा लगाउने मुवालो सम्मका सामाग्रीहरु मेलामा राखिएको छ । आफ्नै पुर्खाले प्रयोग गरेको सामाग्रीको नाम भने हाम्रै नयां सन्ततीलाई थाहा छैन ।

अवलोकन कर्तालाई आफ्नै बिगत तिर झल्काउने गरि मेलामा राखिएको संग्रालय केहि युवाहरुले संयोजन गरेर राखेका हुन् । संग्रालयको संयोजनको अगुवायी गरेका अर्घाखांचीका प्रकाश बेलबासे नयां पुस्तालाई परम्परा चिनाउन र कृषि पेशामा आकर्षित गर्न संग्रालय उपयोगी हुने बिश्वास ब्यक्त गर्छन् ।

बजारमा आधुनिक सेलर मिल, खेतमा सोचालित ट्याक्टर र भान्छामा बिद्युतिय मिक्चर प्रयोग भइरहेका बेला मेलामा राखिएकै औजार प्रयोग गरेर नेपालले बिदेशमा खाद्यान्ह निर्यात गर्दथ्यो । खानेकुराहरु पनि अहिलेका भन्दा स्वस्थकर र स्वादिस्ट हुन्थे । मेलामा पुगेका अवलोकन कर्ताले कृषि संग्रालयलाई निकै रुची पूर्वक नियालीरहेका थिए ।
परम्परा र संस्कृतिलाई संरक्षण गर्नकै लागि कृषि संग्रालय मेलामा राखिएको बुटवल उद्योग बाणिज्यसंघका अध्यक्ष खिमबहादुर हमाल बताउंछन् ।

मेलामा पसल, उद्योगीको उत्पादन र कलाकारको गीत त जहां पनि हेर्न र सुन्न पाईन्छ । तर, बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको मेला भित्रको कृषि संग्रालयले छुट्टै पहिचान दिन सफल भएको छ । अन्य, मेलाका आयोजकहरुले पनि बुटवलको मेलाबाट केहि सिक्न जरुरी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board